सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको लक्ष्य अनुरुप पहिलो चरणमा ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुने बताइएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँबराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।
पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
आवश्यक रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइने बताइएको छ । अर्थले यसअघि पनि आधारभूत अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।
अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।