कैलालीको गोदावरी नगरपालिका ४ बान्द्रेगडाकी नन्दा बोहरा दैनिक पानी लिन आधा घण्टा टाढाको नहरमा पुग्छिन् । उनले भनिन्, ‘यहीँ कतै (बान्द्रेगडा) मा खानेपानीको आयोजना बन्दै छ भन्ने सुन्दैछौँ, खै कहिले बन्ने हो थाहा छैन ?’
सोही वडाको हार्टखोलीकी दीपादेवी साउद सिँचाइका लागि बनाइएको कुलोबाट पानी भर्दै थिइन् । उनले भनिन्, ‘हामी त यो कुलोको पानी खाँदैनौं, तर गाइगोरुका लागि यही पानी प्रयोग गर्छौँ ।’ उनले पनि बस्ती भरी खानेपानी समस्या रहेको गुनासो गरिन् ।
साविकको गोदावरी गाविस वडा नम्बर ८ (हाल वडा नम्बर ४) को हार्टखोली, बन्द्रागढा, फूलबस्ती, बुढीतोला लगायतका बस्तीका मानिस खानेपानीको सुविधा नहुँदा खोला, नहर तथा मूलको पानीमा भरपर्नु पर्ने वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।
हार्टखोली, बन्द्रागढाका बस्तीमा खानेपानीको व्यवस्था नभए पनि ठाउँ–ठाउँमा धारा बनाइएको छ । तर, ती धारामा पाइप जोडिएका छैनन् । सिमेन्टले बनाइएको धारामा टुटी समेत जोडिएको छैन । बान्द्रेगडाका देवबहादुर नेपालीले भने, ‘यहाँ खोलाबाट पानी बोकेर ल्याएर खानुपर्ने अवस्था छ ।’
उनले बस्तीमा राखिएको धाराहरूको छेउमा पाइपहरू राखिएको बताउँदै तर, ती पाइपमा कहिले काहीँ मात्र पानी आउने गरेको उल्लेख गरे । उनले सिँचाइका लागि बनाइएको नहरबाटै पानीको व्यवस्था बस्तीमा पु¥याइएको बताए ।
गोदावरी नगरपालिकाको हार्टखोली अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । कालीखोला (खुटिया नदी) नुहाउन तथा पिकनिकका लागि रोजाइको स्थल बनेको छ । हार्टखोलीमा होटल व्यवसाय गरिरहेका डम्बरबहादुर बोहराले भने, ‘यहाँ चैत महिनादेखि असोजसम्म गर्मी छल्न आन्तरिक पर्यटकहरू आइरहन्छन् ।’ तिहारपछि पिकनिकका लागि आउनेहरू धेरै हुन्छन्, तर खानेपानी अभाव हुँदा हच्किने गरेको उनले सुनाए ।
उनले स्थानीय तह, प्रदेश तथा संघीय सरकारले खानेपानीको व्यवस्था गरिदिए हार्टखोलीमा पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।
बान्द्रेगडाका रत्नी साउदले खोलाकै पानी पिउँदा स्वास्थ्य समस्या भोग्नुपरेको बताए । उनले भने, ‘मानिस, पशुहरूले नुहाएको खोलाकै पानी हामी पिउँदै छौँ । त्यो पानीले गर्दा झाडापखाला, हैजा, आउँ लगायत वर्षौँसम्म बिरामी भएर अन्य रोगको सिकार हुनुपर्ने अवस्था छ ।’
समस्या समाधानका लागि लिफ्टिङ प्रविधि
साविकको गोदावरी गाविसका पहाडी क्षेत्रका स्थानीयहरूको खानेपानीको समस्या समाधान गर्न लागिरहेको वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले बताए ।
उनले पहाडी क्षेत्र भएकाले भूमिगत प्रविधिबाट खानेपानीको व्यवस्था गर्न सम्भव नरहेकाले लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘बन्द्रागढामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट भूमिगत प्रविधिबाट पानीको व्यवस्था गर्न लागिएको छ । त्यहाँ अहिले बोरिङ गाडिसकिएको छ ।’ उनका अनुसार सो आयोजना पूर्ण भए झण्डै तीन सय घरधुरी लाभान्वित हुने छन् ।
उनका अनुसार नगरपालिकाले अहिले बुढीतोलामा लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाएको छ । बुढितोलामा खानेपानीको व्यवस्था गर्न चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
खानेपानीको काम अघि बढाउन उपभोक्ता समिति गठन गरिएको छ । उनले सोलारको प्रयोगबाट लिफ्ट प्रविधिको खानेपानी योजना अघि बढाउँदा लागत बढ्न सक्ने बताए ।
बोकेर ल्याएको पानीले भाडा माज्दै स्थानीय महिला । तस्बिर ः कैलाश जोशी÷फरकधार
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।