धोबीखोल कोरिडोर एक वर्षभित्र सम्पन्न गर्न निर्देशन

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् ।

कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

कोरिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए ।

उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले ठेक्का सम्झौतामा यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रावधान राखिएको बताए । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किमि सडक कालोपत्रे भइसकेको पनि बताए ।

मुआब्जा वितरण समेत गरेर ३ अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्री समेत टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ ।

विगतमा फरक-फरक निर्माण कम्पनीहरुले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन । फलस्वरुप निर्माणको कामले गति लिन सकेन । अहिले एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिकरणको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १६:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया