खानेपानीको मुहानमै मरेका ११ गाई भेटिए
सांकेतिक तस्बिर

बैतडीको पुर्चौंडी नगरपालिका ६ को सिगास सामुदायिक वनमा ११ गाई मृत फेला परेका छन् ।

बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले भेरीखोला मुहानमा गाई मृत अवस्थामा फेला परेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली त्यसतर्फ गएको जानकारी दिए ।

पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्छन् ।  गाउँमा आउने खानेपानीको मुहानमा गाई मृत भेटिएपछि खानेपानीको समस्या भएको स्थानीय सीता साउँदले बताइन् ।  उनले भनिन्, ‘पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।’

नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजिकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । ‘गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ’, स्थानीयवासी प्रेम साउँदले भने, ‘पानीको मुहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।’

मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण पार्की र सुरेन्द्र पार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु २ हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिए । उनले भने, ‘बाटामा कतै नछाड्ने सर्तमा उनीहरुले गाई लगेका हुन् ।’

गाई  मारेर गरेर फालेको भए कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘हामी अनुसन्धान गर्छौँ, मारेर फालेको भए कानुनअनुसार कारबाही  हुन्छ ।’





  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १७:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया