आत्महत्या गर्नुअघि सदस्यलाई कार्यवाहक, मन्दिर जान्छु भनेर हिंडेका थिए वडाध्यक्ष

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण रोकाया शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट निस्किएका थिए । 

बिहान करिब ७ बजे हिँडेका रोकाया घरबाट करिब ५ सय मिटरको दूरीमा रहेको वैजनाथ मन्दिर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए ।

मंसिर ३ गतेदेखि वडा कार्यालय नगएका वडाध्यक्ष रोकायाले सहकर्मीसँग काम विशेषले बाहिर जानुपर्ने भन्दै राम्रोसँग काम गर्न सुझाएका थिए । 

‘तिहार अगाडिदेखि म बिदामा बस्छु अब तपाईंले कार्यवाहकको जिम्मेवारी सम्हाल्नुपर्छ भन्नुहुन्थ्यो,’ वडा सदस्य कमला ओखेडाले भनिन्, ‘अस्ती बुधबार कार्यालय सहयोगीमार्फत् कार्यवाहकको जिम्मेवारी दिएको पत्र मलाई थमाउनुभएको थियो । त्यही दिनदेखि उहाँ कार्यालय आउनुभएन ।’

ओखेडाका अनुसार वडाध्यक्ष रोकायाले टेलिफोनमा समेत समयमै कार्यालय जान र राम्रोसँग काम गर्न भनेका थिए । रोकायाका सहकर्मीहरूका अनुसार उनले आफ्ना तनाव र समस्याका बारेमा कुराकानी भने गरेका थिएनन् । 

‘घरायसी कारण भए थाहा भएन तर हामीसँग त्यस्तो कुनै पनि कुरा सेयर गर्नुभएको थिएन,’ वडा सदस्य ओखेडाले भनिन्, ‘उहाँ निकै मिलनसार स्वभावको हुनुहुन्थ्यो । एक्कासि दुःखद खबर सुन्दा पत्याउनै सकिएन ।’



परिवारका सदस्यले पनि उनको आत्महत्याका बारेमा केही खुलाएको छैन । ‘त्यस्तो कारण केही पनि थिएन, ’ मृतक वडाध्यक्षका नातिले भने,  ‘बाजेले हामीसँग पनि कुनै कुरा गर्नुभएको थिएन । राम्रै कुरा गर्नुहुन्थ्यो । बिहान मन्दिर जान्छु भनेर घरबाट निस्किनुभएको हो ।’ बझाङ पुख्र्यौली घर भएका रोकाया लक्ष्मी पूजाका दिन सडक दुर्घटनामा परेका थिए ।

मोटरसाइकल अनियन्त्रित भएपछि भएको दुर्घटनामा परी निधारमा चोट लागेको थियो । उनको निधारमा ५ वटा टाँका लागेको उनका नातिले जानकारी दिए ।



वडाध्यक्षको मृत्युको कारण नखुले पनि सुदूरपश्चिम प्रदेशमा पनि केही सयमयता आत्महत्या गर्ने क्रम बढ्दै गएको र दैनिक कम्तीमा दुई जनाले आत्महत्या गरिरहेको प्रहरीको भनाइ छ । कोरोनाको कहर सुरु भएपछि आत्महत्या गर्ने क्रम थप वृद्धि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाका अनुसार मृतक रोकायाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको छ । 

तर, रोकायाले आत्महत्या किन गरे ? त्यसको कारण अझै खुल्न नसकेको सोधखोज जारी रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।  ‘घटनास्थल मुचुल्काको काम सकेर शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएका छौँ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘आत्महत्याको कारण खुलेको छैन् । हामी अनुसन्धान गरिरहेका छौँ ।’

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १७:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया