मन्त्रिपरिषद् निर्णय : स्थानीय तहमा अस्पताल निर्माण गर्न जग्गा लिजमा लिने

सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने भनेको ५ देखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । 

अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ संसोधन गर्दै यस्तो निर्णय भएको बताए ।

‘दफा १२ को उपदफा (३) लाई संशोधन गर्दै ‘स्थानीय तह अन्तर्गत स्थापना हुने ५ देखि १५ शय्याको आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’, भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गरिएको उनले बताए । 

यसैगरी सरकारले सुख्खा बन्दरगाह कार्यालय सिर्सिया, पर्सा विस्तारका लागि सुख्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीबीचमा रहेको ६२ बिघा क्षेत्रफलको जग्गा अधिग्रहण गर्न पनि सरकारले स्वीकृति दिएको छ ।

यस्तै नेपालको सहरी शासकीय सुधार र पूर्वाधार आयोजनाका लागि विश्वबैंकले प्रस्ताव गरेको १८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । यस्तै सहलगानीसम्बन्धी कार्यविधि २०७७ र व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पनि मन्त्रिपरिषद्ले स्वीकृति गरेको उनले बताए ।

यसैगरी लामो समयदेखि गैर कानुनी रुपमा नेपाल बसिरहेका अस्ट्रेलियन नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजार समेत मिनाहा गरी देश निकाला गरेको छ ।



यस्तै यमन गणराज्यका नागरिकहरु मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवाना वाफतको १ लाख समेत मिनाहा गरी दुवै जनालाई देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै नेपाली प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७७ स्वीकृत भएको छ । सरकारले सुर्खेत विमानस्थलका लागि ३० बिघा र विराटनगर विमानस्थलका लागि १ सय २६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति पनि दिएको छ ।



अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धव प्रसाद तिमल्सेनालाई नियुक्त गर्ने पनि सरकारले निर्णय गरेको उनले बताए । यस्तै स्वास्थ्य संस्था प्रत्यासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ । यसै गरी सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश सहितको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

  • प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार १८:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया