उद्योग वाणिज्य संघको चुनावी दौड : को कति बलियो ?
फरकधार / ६ मंसिर, २०७७

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तथा एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र संघई र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रीय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । 

१ नम्बर प्रदेशमा वरिष्ठ उपाध्यक्ष​ ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।

यसैगरी वस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन्।​

राष्ट्रियतर्फ ढकाल प्यानलबाट सन्दीप अग्रवालको मात्रै आवेदन परेकाले उनी पनि निर्विरोध निर्वाचित भइसकेका छन् । 

चुनावी प्रतिस्पर्धा 

मंसिर ११, १२ र १३ गते हुने ५४ औं वार्षिक साधारणभा तथा निर्वाचनका लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । भावी अध्यक्षको रुपमा ढकाल र प्रधानले आफ्नो दौडलाई निरन्तरता दिएका छन् । भावी अध्यक्ष अर्थात् वरिष्ठ उपाध्यक्षसँगै तीन उपाध्यक्षमा पनि प्रतिस्पर्धा देखिएको छ। ​

त्यत्तिमात्र होइन जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्षको निर्वाचन रोचक बन्ने देखिएको छ । ​

एसोसिएट्स उपाध्यक्षमा संघई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्। संघई त्रिवेणी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् । 

ज्योति समूहका निर्देशक सौरभ ज्योतिको उद्योग क्षेत्रमा छुट्टै पहिचान छ । ज्योति बैंकिङ, वित्तमा मात्र छैनन् उनीसँग बिमा समितिको सभापति भएर काम गरेको अनुभव छ । 

महासंघको चुनावमा ढकाललाई बलियो उम्मेदवार मानिएको छ । एशोसिएट्सतर्फको उपाध्यक्ष बनेर उनले जिल्ला र नगरमा राम्रो नेटवर्क बनाएको देखिन्छ । उनले आफ्नो नेटवर्कलाई नै जितको आधार मानेका छन् । 

चैतमा चुनाव घोषणा हुँदा र अहिले अवस्था भने फेरिएको छ । ढकाल पक्षमा भएकी वर्तमान अध्यक्ष भवानी राणाले अहिले टिम परिवर्तन गरिसकेकी छन् । 

महासंघमा बनेको नयाँ अंक गणितले परिणामका लागि चुनाव कुर्नुपर्ने देखिएको छ । अध्यक्ष राणा एउटा पक्षमा खुलेर लागेपछि समिकरण नयाँ बन्ने देखिएको हो । 

अध्यक्ष प्रधानको पक्षमा खुलेपछि केही प्रभावशाली व्यवसायी प्रधानको पक्षमा देखिएका छन् । यसले महासंघको चुनाव अझ रोचक हुँदैछ । दुवै पक्षले अहिले जिल्ला र नगरमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् । 

महासंघमा निर्वाचित हुने ६४ सदस्यमध्ये वरिष्ठ उपाध्यक्षको लागि सबै समूहका प्रतिनिधिले मत दिन्छन् । उपाध्यक्ष र अन्य पदका लागि सम्बन्धित समूहका प्रतिनिधिले मात्र मतदान गर्र्नेछन् । 

अहिले महासंघमा १ सय ७ वटा उद्योग वाणिज्य संघ, १०१ वटा वस्तुगत संघ, ९ सय २३ जना एशोसिएट्स सदस्यसँगै कुल २४ संस्थाका प्रतिनिधिले मताधिकार पाउने छन् । 

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १०:५४:४४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया