डिग्री पास गरेका कृषकको बीउ पुँजी एक हजार
फरकधार / ६ मंसिर, २०७७

कैलालीको गोदावरी नगरपालिकाका कृषक प्रेमराज भट्टले ०६८÷६९ सालमा १ हजार रुपैयाँमा पाँच पोका च्याउका बीउ खरिद गरे । त्यसलाई घरभित्रै उमारेर बजारमा पुर्‍याए । 

अहिले उनी एउटा सफल च्याउ खेती व्यवसायी बनेका छन् । च्याउ खेतीबाट कृषि पेसामा प्रवेश गरेका उनले कुरिलो खेती, कुखुरापालन, माछापालन पनि गरिरहेका छन् । 

सानो लगानीबाटै मानिसले धेरै आम्दानी गर्न सक्छन् भन्ने उदाहरण भनेका छन् कृषक प्रेमराज भट्ट ।

‘हजार रुपैयाँको च्याउको बीउ किनेर कृषि कर्म अगाडि बढाएँ’, उनले भने, ‘६ वर्षमा १ करोडभन्दा बढी रुपैयाँको कारोबार गर्न थालेको छु ।’

च्याउ उत्पादनबाट सुरु भएको उनको कृषि व्यवसाय कुखुराका लागि दाना बिक्री गर्ने थोक पसलसम्म पुगेको छ ।

एनले ६ बिघा जमिनमा कुरिलो खेती र एक बिघामा माछापालन गरेका छन् । भट्टले २६ टनेलमा च्याउ खेती र ६ हजार कुखुरा पालन गरेका छन् । ‘यसैमा आफूलाई सन्तुष्ट पाएको छु’, उनले भने ।

प्रेमराजले जडिबुटीलाई टेवा पुगोस् भनेरै कुरिलो खेती सुरु गरेको बताए । ‘कुरिलोको जरा महँगोमा बिक्री हुने भएकाले अहिले ६ बिघा जमिनमा खेती गरेको छु,’ उनले भने । चिम्ट्याइलो माटो र पानी नजम्ने ठाउँमा कुरिलो खेती राम्रो हुने उनले बताए ।

‘यहाँको जमिन र हावापानी कुरिलोका लागि उपयुक्त छ’, उनले भने, ‘त्यही भएर ६ बिघा जमिनमा यो खेती थालेको छु ।’ कृषि पेसाबाटै मासिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए । आफूले कृषि पेसा अँगालेदेखि नै जीवन परिवर्तन भएको उनी बताउँछन् । ‘कृषिमै पैसा फालाफाल रहेछ ।’

जेटिए अध्ययन गरेका प्रेमराजले शिक्षा शास्त्र संकायमा स्नातकोत्तर गरेका छन् । ‘कृषिलाई निरन्तरता दिनकै लागि जेटिए पढेँ’, उनले भने, ‘पछि शिक्षा संकायमा स्नातकोत्तर पनि गरेँ ।’ 

त्यसो त उनलाई जागिरका अवसर नआएका होइनन् तर, उनले जागिरभन्दा आफ्नै व्यवसाय महत्त्वपूर्ण ठाने । ‘अरुकोमा गएर काम गरेबापत पाउने मासिक तलबभन्दा थोरै भए पनि आफ्नै गर्नुपर्छ भन्ने लाग्थ्यो त्यो बेला’, उनले भने, ‘जागिरका धेरै अवसर छोडेर स्वरोजगारको निर्णय लिएको हुँ ।

सरकारले कृषिमा अनुदान दिएको बताउँदै आए पनि आफूले अहिलेसम्म एक पैसा अनुदान नपाएको उनको गुनासो छ । ‘हामीजस्ता वास्तविक किसानलाई सरकाले हेर्दैन,’ उनी भन्छन्, ‘पहुँच र जमिन्दार (जमिन भएका तर काम नगर्ने) किसानलाई भने अनुदान दिने गरेको छ । पहुँचका आधारमा मात्रै कृषिको अनुदान पाउने प्रावधानले आफूजस्ता वास्तविक किसान मारमा परेको उनको गुनासो छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १५:२८:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया