झुलाघाट नाका पाँच दिन खोलिने
फरकधार / ६ मंसिर, २०७७

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । 

यही मङ्सिर ८ गते देखि १२ गतेसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, ‘नेपाली नागरिकलाई भारतीय पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्न लागेका हौँ ।’

जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुल्न लागेको हो ।  कोरोनाका कारण सीमा नाका बन्द भएपछि नेपालीले लामो समयदेखि निवृत्तिभरण बुझ्न पाएका छैनन् । यसअघि  तीन दिनका लागि नाका खोलिए पनि सबैले निवृत्तिभरण बुझ्न पाएका थिएनन् ।

नाका खुलेका समयमा निवृत्तिभरणधारीका साथै अत्यावश्यक र आकस्मिक काम परेकाले समेत आवतजावत गर्न पाउने सहायक प्रजिअ नेगीले बताए । उनले भने, ‘खास गरेर पेन्सनधारीको पेन्सन बुझ्नका लागि नाका खुल्ने हो, अत्यावश्यक कामका लागि अरुलाई पनि आवतजावत गर्न दिइन्छ ।’

जिल्लामा करिब १ हजार २००  भारतीय निवृत्तिभरणधारी  रहेको बताइएको छ । नाकामा निवृत्तिभरणधारीले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने  प्रशासनले जनाएको छ । निवृत्तिभरणधारीले २ महिनाअघि नाका खोल्न आग्रह गरेका थिए । उनीहरुको अनुरोधमै नाका खोल्न लागिएको हो । उनीहरुले निवृत्तिभरणबापतको पैसा भारतीय बैंकमार्फत् बुझ्ने गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १६:१९:३६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया