लकडाउनको सदुपयोग गर्दा स्वरोजगार
फरकधार / ६ मंसिर, २०७७

कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकूल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणीय व्यक्ति बनेका छन्, हेटौंडा–६ शान्ति टोलका भरत सापकोटा । लकडाउनका कारण आफूले लाखौं लगानी गरेर सञ्चालन गरेको निजी विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो । त्यसैले आफ्नो पुर्ख्यौली जमिनमा व्यावसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुवात गरे । लकडाउनकै बीचमा कुखुरा, माछा र तरकारी खेती सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन्  ।

यस्तै लकडाउनभन्दा अगाडि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चे खोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनकै बीचमा व्यावसायिक तरकारी खेती सुरु गरेको छ । बेमौसमी तरकारी खेती सुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गर्न सफल भएको छ । लकडाउनको प्रतिकूल समयलाई सदुपयोग गरेका उनीहरु आफू त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका ६ ले स्वरोजगार कार्यक्रम सुरु गरेको छ । बेरोजगारहरुलाई व्यावसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानका लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन् ।

हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यावसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतका रुपमा अगाडि बढाएका छन् । तर, सीपमुलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन् । राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकूल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १६:५५:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया