अनि चितवनमा गरियो सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी...
फाइल तस्वीर ।

नकेपा नेता सुरेन्द्र पाण्डे चितवनमा रुचाइएका नेतामध्ये पर्छन् । 

तर, शनिबार चितवनमा जे भयो, त्यसले उनलाई अब चितवनमा उनकै पार्टीका कार्यकर्ताले पनि रुचाएनन् भन्ने प्रष्ट भयो । खासमा यो सत्तारुढ नेकपामा अहिले शीर्ष तहमा देखिएको विवादको एउटा स्वरुप मात्र थियो । 

चितवनको राप्ती नगरपालिका विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेलाको कार्यक्रम राखिएको थियो । केही दिन यता चितवनमा नै भएका पाण्डे यो कार्यक्रममा सहभागी हुने पहिले नै निर्धारित गरिएको थियो । 

तर, त्यहाँ भेला भएका कार्यकर्ताले पाण्डेलाई पार्टी एकताविरोधीको आरोप मात्र लगाएनन्, उनलाई कार्यक्रममा सहभागी हुन नदिने र लखेट्नेसमेत प्रयास गरे । कार्यक्रममा जसै सुरेन्द्र पाण्डेले सम्बोधन गर्न थाले, त्यसपछि नेकपा अध्यक्ष केपी शर्मा ओली समर्थित कार्यकर्ता झन् आक्रोशित हुन थाले । 

सम्बोधनमा पाण्डेले मदन भण्डारी फाउन्डेसनको नाम लिए । अनि भने, ‘यसमार्फत् अहिले गुटबन्दीको प्रयास गरिएको छ ।’

उनले यतिमात्र के भनेका थिए, ओली समर्थनका कार्यकर्ता त्यहाँ नाराबाजीमा उत्रिए । उनीहरुको आरोप थियो– पाण्डे र उनको समूह अहिले पार्टी फुटाउन लागेका छन् ।



नाराबाजी भएपछि कार्यक्रम केही समयका लागि बिथोलियो । त्यहाँ उपस्थित भएका ओलीइतर पक्षका कार्यकर्ताले चाहिँ पाण्डेविरुद्ध नाराबाजी गर्नेहरु त्यहाँका नभएको बताएका छन् ।

चितवनकै क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित पाण्डे नेकपामा माधवकुमार नेपाल निकट नेता हुन् । 



यो घटना भएपछि पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले विज्ञप्ति नै जारी गरेका छन् । उनले यो कार्यक्रमको भत्र्सना गर्नुका साथै घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार १७:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया