कोलोपत्रे उक्किएपछि सकसपूर्ण बन्दै कर्णाली राजमार्गको यात्रा
कर्णाली राजमार्ग अन्तर्गत दैलेख सडक खण्ड हुँदै जुम्ला कालिकोट जान लागेको यात्रुबाहक माइक्रोबस । तस्बिर : वसन्त भण्डारी

कर्णाली राजमार्ग क्षेत्रका विभिन्न ठाउँको कालोपत्रे उक्किएपछि सडक धुलाम्मे बन्दै गएको छ । बेला–बेलामा आउने पहिरोका कारण राजमार्गका धेरै ठाउँमा क्षति पुगेको छ । खराब सडकका कारण सवारी साधन बीच बाटोमै बिग्रिने तथा दुर्घटनाको जोखिम बढेको यात्रुहरू बताउँछन् ।

धुलो तथा कच्ची सडकका कारण यात्रा सकस पूर्ण हुने गरेको कालिकोटका रमेश बमले बताए । शुक्रबार मात्रै कर्णाली राजमार्गको बाटो हुँदै सुर्खेत आइपुगेका बमले भने, ‘कर्णाली राजमार्गमा यात्रा गर्दा सधैं डर लाग्छ । त्यसमा पनि सडकको राम्रोसँग मर्मत सुधार नहुँदा यात्रा एकदमै असहज हुने गरेको छ ।’

राजमार्गमा पर्ने विभिन्न नदीमा पुल निर्माणको कामले पनि सडकमा क्षतिपुगेको छ । पानी भएको ठाउँमा हिलो र अन्य ठाउँमा धुलै धुलोको समस्या हुने गरेको उनले बताए । 

दैलेखबाट कर्णाली राजमार्ग हुँदै सुर्खेत आएका नवीन उपाध्यायले बमले उठाएका समस्यासँग सहमति जनाए । ‘राजमार्गको यो समस्या एकदमै पुरानो समस्या हो, तर यो समाधान हुन सकेको छैन,’ उनले भने, ‘राजमार्गमा देखिने समस्याहरू समाधान गर्न नसक्नु सरकारी क्षेत्रको ठूलो कमजोरी हो ।’ हाल राजमार्ग अन्तर्गत दैलेख, कालिकोट, जुम्ला लगायतका ठाउँमा बेला बेलामा विभिन्न समस्या आउने गरेका छन् ।

२३२ किमि लम्बाइ रहेको कर्णाली राजमार्गको कालिकोट–जुम्ला क्षेत्रमा सडक डिभिजन कार्यालय जुम्ला र दैलेख–सुर्खेत क्षेत्रमा सडक डिभिजन कार्यालय सुर्खेतले हेर्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतकी सूचना अधिकारी सजना पोखरेल दैलेख–सुर्खेत क्षेत्रमा करिब ४० प्रतिशत सडक बिग्रिएको बताइन् ।

‘सुर्खेत कार्यालयले बाङ्गेसिमलदेखि १३२ किमि सडक हेर्न गर्दछ,’ उनले भनिन्, ‘त्यसमा बाङ्गेसिमलदेखि ५४ किमि क्षेत्रसम्म सडक पूर्णरूपमा ठिक छ भने त्यहाँदेखि माथि विभिन्न ठाउँमा सडक बिग्रिएको छ ।’ बिग्रिएको सडकको मर्मत, सुधार तथा कालोपत्रेका लागि गत आर्थिक वर्षमा ४ र चालु आर्थिक वर्षमा ४ वटा ठेक्का सुरु भएको उनले जानकारी दिइन् । सडकको मर्मत तथा सुधारको काम भइरहे पनि बेला बेलामा आउने पहिरो जस्ता कारणले पुनः सडक बिग्रिने गरेको उनको भनाइ छ ।



यता सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलबहादुर भण्डारीले कालिकोटको मान्मदेखि सेरी घाट क्षेत्रमा सडक धेरै मात्रामा बिग्रिएको बताए । ‘कालिकोट क्षेत्रमा सडक धेरै बिग्रिने गरेको छ,’ उनले भने, ‘जुम्ला क्षेत्रतिर सडक राम्रो छ । कालिकोट क्षेत्रमा पनि निर्माणको काम हामीले गरिरहेका छौँ । तर, भौगोलिक बनावटका कारण बेला बेलामा आउने पहिरोले समस्या निम्त्याउने गरेको छ ।’

चालु आर्थिक वर्षमा कालिकोटदेखि जुम्ला सम्मको १०४ किमि क्षेत्रका लागि करिब १५ करोड बजेट आएको भन्दै उनले बिग्रिएको सबै क्षेत्रमा कालोपत्रे, मर्मत सुधारका काम गरिने बताए । सडकको आसपास क्षेत्रमा बनाइने घर, घडेरी तथा सहायक राजमार्गका कारणले पनि राजमार्ग बिग्रिने गरेको बताए ।



  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १५:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया