logo-img

बैंकमा छान्ने सिइओ क्षमतावान् कि अनुभवी ?

नेपाली बैंकमा सिइओ नियुक्त गर्ने विषय सधै विवादित रहने गरेको छ । सञ्चालकबीच सधैँजसो यही विषयमा विवाद हुने गरेकोे छ । जहाँ आफन्तलाई नियुक्त गर्ने उद्देश्य छैन र असल र सक्षम मान्छेको खोजी हुन्छ, त्यहाँ पनि सिइओ छनोट विधि कतिको सान्दर्भिक र औचित्यपूर्ण छ, मनन गर्नुपर्ने देखिएको छ । सिइओ नियुक्तिको विवाद जरुरी छ त ? यसै विषयमा केही तथ्यगत कुरा केलाउने जमर्को गरिएको छ ।

सिइओ छनोट गर्दा लामो अनुभवको खोजी गरिन्छ । अहिले नेपाली बैंकिङ क्षेत्रमा लामो समय अनुभव संगालेका व्यक्ति सिइओ बनाइएका छन् । तर, नेपाली बैंकिङ क्षेत्र प्रणालीगत रूपमा कमजोर बन्दै गइरहेको अनुभुति हुन्छ । त्यसैले लामो अनुभवभन्दा पनि सकारात्मक सोच र क्रिएटिभ तथा इनोभेटिभ युवालाई सिइओ बनाउँदा बैंकको उत्पादनशीलता बढ्छ र बैंक सबल बन्छ ।



यस सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानले पनि के देखाइसकेका छन् भने कसैको उत्पादनशीलता र कामको प्रभावकारितामा उसको शैक्षिक योग्यता र विगतको अनुभवको लगभग २५ प्रतिशतमात्र योगदान रहन्छ । ७५ प्रतिशत योगदान उसको सकारात्मक सोच र मानवीय सम्बन्धसम्बन्धी क्षमताको हुन्छ ।

हिजोको अनुभव आज काम नलाग्ने पनि हुन सक्छ । तर, हिजोको अनुभवबाट सिक्ने सम्भावना चाहिँ रहन्छ । आज पनि बैंक तथा वित्तीय संस्थामा लामो समय बैंकिङ क्षेत्रमा बिताएका अनुभवी उच्च पदस्थ अधिकारी छन्, जो आफैं इमेल लेख्न तथा पढ्न सक्दैनन्, जसका लागि सेक्रेटरी राख्नुपर्ने आवश्यकता पर्छ । आजको डिजिटल युगमा यस्तो अनुभव कत्तिको उपयोगी र प्रभावकारी हुन्छ, सोच्नुपर्ने भएको छ ।

सहभागितामूलक व्यवस्थापन प्रणाली आजको आवश्यकता हो । यही प्रणालीअनुसार कार्य सम्पादन गर्ने कम्पनीले विश्वव्यापी रूपमा अत्यधिक प्रगति गरेका उदाहरण पनि छन् । तर, लामो अनुभव हासिल गरे पनि कहिल्यै सहभागितामूलक व्यवस्थापनको प्रयोग तथा प्रविधिको प्रयोग नगरेका व्यक्तिबाट केही आशा गर्न सकिन्न । 

हिजो हाकिमले अह्राएको काम मात्र गर्ने परिपाटीबाट अनुभव हासिल गरेकाले आजको युगमा पनि आफू हाकिम भएको महसुस गरी त्यही प्रणाली लागू गर्न चाहन्छन् । त्यस्ता व्यक्तिमा म त सिइओ पो हुँ त, मेरो कुरा काट्ने ? मैले जे भनेँ त्यही हुनुपर्छ भन्ने भावना हुनाले सहभागितामूलक व्यवस्थापनमा विश्वास गर्न सक्दैनन् । आजको आवश्यकता भनेको डिजिटल तथा खुला बैंकिङ प्रणाली हो । आज संसारभरका बैंक पूर्ण डिजिटल भइसके र प्रविधिलाई आत्मसात नगर्नेहरू पछाडि परिसके । 



अझै पनि नेपाली बैंकिङ क्षेत्र अनुभवको नाममा सङ्कीर्ण सोचाइ तथा प्रविधिको ज्ञान नै नभएका व्यक्तिलाई सिइओ बनाएर राख्न तछाडमछाड गरिरहेका छन् । नेपालकै कुनै एक बैंकले लगभग ४ वर्ष पहिले सिइओको खोजी गरिरहेको थियो ।

एक जना योग्य व्यक्तिको प्रस्ताव सञ्चालक समितिमा पुग्यो । तर, समितिमा छलफल हुँदा ‘सिइओ भनेको त नाम चलेको र बैंकिङ क्षेत्रमा धेरै वर्षको अनुभवी व्यक्ति चाहियो । कसैले तपांईंको सिइओ को हो भनेर प्रश्न गर्दा पनि लाज नहुने नाम चाहियो । काम गर्न सक्ने मात्र भनेर कहाँ हुन्छ यस्तो नामै नसुनेको व्यक्तिलाई नियुक्त गरेर हाम्रो बेइज्जत हुँदैन ?’ यो संवादले हाम्रो बैंकिङ क्षेत्रमा कस्तो जमात छ भन्ने स्पष्ट गर्छ ।



अहिले नेपाली बैंकिङ क्षेत्रमा एकाधबाहेक सिइओहरू ‘सेरेमोनियल’ देखिन्छन् । उनीहरू मिडियामा देखिने र आफ्नो ब्रान्ड बनाउने काममा मात्र व्यस्त छन्, जबकि बैंकमा समयसापेक्ष परिवर्तन गरी प्रविधिको विकास गर्ने र कर्मचारीको व्यक्तिगत कार्यक्षमता वृद्धि गरी उत्पादकत्व बढाउनुपर्नेमा कुनै काम गरेको देखिँदैन ।

कर्मचारीको वृत्तिविकासका नाममा आफ्ना आफन्त तथा चाकरी गर्ने केही सिनियर कर्मचारीलाई विदेश घुम्न पठाउने गर्छन् भने तल्लो स्तरका कर्मचारीलाई शनिबार तथा बिदाको दिन पारेर स्थानीयस्तरमा तालिममा पठाउने गरेका छन् । यसरी मानव संशाधनको विकास कुनै हालतमा हुन सक्दैन ।

मानव संशाधन विभागमा बैंकका सिइओले जहिले पनि आफूले भनेको मान्ने र लगाएको काममात्र गर्ने कर्मचारीलाई प्रमुख बनाएर राखेका हुन्छन् । यसबाट कर्मचारी सरुवा, प्रमोशन, विदेश भ्रमण आदिमा निर्णय गर्ने अधिकार अप्रत्यक्ष रूपमा सिइओले आफ्नो हातमा राखेका हुन्छन् । 

यो सन्दर्भ उठाउनुको कारण के हो भने अनुभवी सिइओ नियुक्त गरेको बैंकमा कर्मचारी व्यवस्थापन पनि त चुस्त हुनुपर्ने हो नि, तर संस्थाको हितमा भन्दा पनि आफ्नो र केही सञ्चालकको हितमा हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले समयसमयमा यस्ता गलत अभ्यासलाई निरुत्साहित गर्न विभिन्न कदम चाल्दै आएको छ  । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर, सञ्चालक समितिका अध्यक्ष वा सिइओले आफ्नो नातेदार वा आफूले भनेबमोजिम काम गर्ने कुनै पूर्वकर्मचारीलाई छानेर बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेका उदाहरण छन् ।

कुनै एक सामान्य नेपालीको जीवनयापनका लागि र सुरक्षित भविष्यका लागि कति तलब भत्ताको जरुरत होला ? ३ लाख, ४ लाख, ५ लाख वा १० लाख ? तर, नेपाली बैंकले सिइओलाई २०/२५ लाख मासिक तलब भत्ता भुक्तानी गरिरहेका छन् । के यो नेपाली अर्थतन्त्र र राष्ट्रिय आम्दानीको सामाजिक वितरणबमोजिम छ त ? के ती सिइओले साँच्चै त्यति धेरै तलब भत्ता भुक्तानी गर्नुपर्ने काम गरेर देखाएका छन् त ?

यदि तिनीहरू नभएमा बैंक नै चल्न नसक्ने हो वा बैंक धराशायी हुने हो ? हरेक बैंकका सञ्चालकले निष्पक्ष रूपमा सोचेर निर्णय गर्ने हो भने आज नेपाली बैंकलाई ३० वर्ष वा धेरै अनुभव भएका व्यक्तिभन्दा पनि सकारात्मक सोच राख्ने, वास्तविक रूपमा प्रणालीगत पद्धतिको विकास गरेर समयसापेक्ष प्रविधिमैत्री र ग्राहकमैत्री प्रणाली लागू गर्न सक्ने र कुनै सञ्चालक वा कोही निश्चित व्यक्तिका लागि भन्दा पनि संस्थाको र समग्र वित्तीय प्रणालीको हितमा काम गर्न सक्ने निर्भीक व्यक्ति छानेर नियुक्त गर्नु पर्ने समय आएको छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया