क्रिकेटको राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् ।
कप्तान मल्ल, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य छुम्बी लामा, बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधान लगायतको टोलीले सोमबार रंगशालाको अवलोकन गरेको हो ।
ज्ञानेन्द्रले अवलोकन पश्चात् रंगशाला निर्माण गरिरहेको धुमुर्स–सुन्तली फाउन्डेसनलाई धन्यवाद दिँदै सबैलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
ज्ञानेन्द्रले ट्विट गरेका छन्, ‘निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ । रंगशाला निर्माण गरिरहेको धुमुर्स–सुन्तली फाउन्डेसनलाई धन्यवाद दिँदै सबैलाई यो अभियानमा साथ दिन आग्रह गर्दछु । आउनुहोस् हामी सबै मिलेर यो सुन्दर सपनालाई साकार बनाऊँ ।’
धुमुर्स–सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकाले उपलब्ध गराएको २० बिघा जमिनमा रंगशाला निमार्ण गरिरहेको छ । फाउन्डेसन र महानगरपालिकाबीच २०७५ माघ १६ गते सम्झौता भएपछि गतवर्षको मंसिर १ बाट रंगशालाको निर्माण सुरु भएको थियो ।
३० हजार दर्शक क्षमता भएको रंगशाला आर्थिक अभाव नभए अबको डेढ वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य फाउन्डेसनले लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।