राजनीति हटाउने भन्दै महासंघभित्र तिव्र राजनीति !

‘राजनीतिकरण हटाउने भन्दै राजनीति बढाइँदै छ ।’ नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोलप्रतिको टिप्पणी हो यो । चुनावी महोलमा होमिएकामध्ये पनि अधिकांशले महासंघमा राजनीति हुनुहुँदैन भन्ने प्रतिक्रिया दिँदैै आएका छन् । तर, महासंघको नेतृत्वमा आउनकै लागि चर्को राजनीति भइरहेको टिप्पणी उद्योगीकै छ ।
महासंघको नेतृत्वसम्म पुग्नकै लागि एक अर्कालाई आरोप प्रत्यारोपदेखि मत किनबेचसमेतको आरोप चुनावी माहोलमा लाग्ने गरेको छ । 

त्यही चर्को राजनीतिका कारण उद्योगी व्यवसायीको हकहितका लागि भनिएको संस्था छिन्नभिन्न भएर यसअघि नै फुटिसकेको अर्कोथरी टिप्पणी छ ।  राजनीतिभन्दा टाढा रहेर विशुद्ध उद्योगी व्यवसायीको हितमा काम गर्ने संस्था एक हुन नसक्दा झण्डै आधा दर्जनभन्दा बढी यस्ता संस्था बनिसकेको छन् । 

‘विशुद्ध उद्योगी व्यवसायीको संस्थाभित्र किन राजनीति हुन्छ त ?’ महासंघका पूर्वअध्यक्ष नै भन्छन्, ‘उद्योगीको हकहितमा काम हुनुपर्ने हो । तर, व्यक्तिगत लाभका लागि नै नेतृत्वमा आउने गलत प्रयास भइरहेको छ ।’

‘खासगरी व्यवसायी महासंघको उच्च पदमा पुग्न सके राजनीतिक रुपमा उच्च तहको पहुँच सहजै पाउँछन्,’ एक पूर्व अध्यक्ष भन्छन्, ‘जसका कारण राज्यबाट पाउने सहुलियत र सहयोगमा आफ्नो र निकटका उद्योगीलाई दिन सकिन्छ ।’ यसकै लागि उद्योगी व्यवसायी पदमा पुग्न हानथाप गर्ने उनको टिप्पणी छ ।

महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भने यो कुरा स्वीकार गर्दैनन् । ‘महासंघभित्र राजनीति त भइरहेको होला,’ उनी भन्छन्, ‘व्यक्तिगत लाभकै लागि मात्रै पदमा गइन्छ भन्ने कुरा गलत हो ।’ कसैले केही गलत गर्यो भन्दैमा संस्थागत रुपमा बुझ्नु न्यायसंगत नहुने उनको दाबी छ । 

निजी उद्योग क्षेत्रको शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघ  (एफएनसिसिआई)को बिधानअनुसार बरिष्ठ उपाध्यक्षसहितका लागि दुई प्यानल यतिबेला चुनावी मैदानमा छन् ।  मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनतिर राजनीतिकर्मी, पत्रकार तथा अन्य पेशाधारीको ध्यान तानिएको छ ।  



महासंघको आगामी नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा रहेकाले एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै मत आफ्नो पक्षमा पार्ने प्रयाससमेत जारी राखेका छन् । कोरोना भाइरस महामारीका कारण गत वर्षको चैतदखि सर्दै आएको महासंघको चुनावी माहोल यो वर्ष अझै रोचक छ ।  अधिकांश महाधिवेशनमा ‘न्युट्रल’ रहने भावी अध्यक्षले नै एक प्यानलको नेतृत्व गरिरहेको दृश्य रोचक बनेको छ ।  

महासंघको बिधानअनुसार स्वतः भावी अध्यक्ष बन्ने शेखर गोल्छाले सार्वजनिक रुपमै किशोर प्रधान प्यानललाई आफ्नो समर्थन दिँदै उनको पक्षमा भोट माग्न वकालत गरिरहेका छन् ।  



केही समयमै महासंघको नेतृत्व गर्ने स्वतः अध्यक्ष बन्ने व्यक्तिले यसो गर्न नहुने तर्क पनि व्यवसायीको छ । प्रधानका प्रतिस्पर्धी चन्द्र ढकालले भावी अध्यक्षले नै महासंघमा गुट बनाएर राजनीति गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । 

महासंघका पूर्वअध्यक्षहरू पनि चुनावी माहोलमा कुनै न कुनै प्यानललाई समर्थन गर्दै मत बटुल्न सहयोगी भुमिका खेलिरहेका छन् । महासंघका हालकी अध्यक्ष भवानी राणाले ढकाल प्यानललाई समर्थन गर्दै उनको पक्षमा मत बढाउन सहयोग गरिरहेकी छिन् । 

तर, अध्यक्षले सहमतिको प्रयास पनि जारी रहेको बताइरहेका छन् । गोल्छा र राणा दुबैले महासंघमा सहमति भएमा प्रधानलाई ‘ब्याक’ जान दबाब दिने बताइन्छ । तर सहमतिको सम्भावना भने निकै कम रहेको छ ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष गोल्छा अर्को साता नै अध्यक्ष बन्दै छन् । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्ष ढकाल र किशोर प्रधान प्यानलको उम्मेदवारी परेको छ ।

अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले २०८० देखि २०८३ सम्म महासंघको अध्यक्षता गर्नेछन् । महासंघमा वरिष्ठ उपाध्यक्षदेखि तल्लो तहसम्म निर्वाचन हुने गर्छ ।
ढकालको प्यानलमा जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाई मैदानमा छन् । यसैगरी, किशोर प्रधानको टिमबाट जिल्लानगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति भिड्दै छन् । 

जिल्ला नगर उद्योग वाणिज्य संघको १ सय ७, एसोसिएटको ९ सय २३, वस्तुगतको १ सय ३ जना र राष्ट्रिय उद्योग वाणिज्य संघबाट १३ जनाले महासंघको निर्वाचनमा मतदान गर्नेछन् । यसैगरी वस्तुगत र एसोसिएटका उपाध्यक्षमा आ–आफ्नो समूहले मात्र मतदान गर्ने गर्छन् । अन्य पदमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएटको ३० र वस्तुगतको २० प्रतिशत हुन्छ । 

  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १८:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया