दाजुले किर्ते गरी आठ बिघा जग्गा हडपे, न्याय खोज्दै तीन भाइ

राजपुर गाउँपालिका २ का भँगु चौधरी र खुसीरामीका ठाकुरराम, केवल, जयमान र ओमप्रकाश क्रमशः  जेठा, माइला, साइँला र कान्छा छोरा हुन् । ठाकुरराम र केवल चौधरीले २०४३ साल पुस २२ गते नागरिकता वितरण घुम्ती टोलीबाट नागरिकता लिए । जेठो छोराले बाबु भगमल चौधरी र आमाको नाम मनकनिया राखे । माइलाले भने बाबुआमाको नाम भँगु र खुसीरामी नै राखे । 

साइँला छोरा जयामानले २०४४ साल चैत २२ गते र कान्छा छोरा ओमप्रकाश चौधरीले २०६० साल असार ९ गते नागरिकता लिए । साइँला र कान्छा छोराको नागरिकतामा पनि बाबुआमाको नाम भँगु र खुसीरामी नै छ ।

परिवारमा यसले कुनै समस्या निम्त्याएको थिएन । बाबु भँगु र आमा खुसीरामीको मृत्युपछि निरक्षर दाजुभाइले परिवारको जेठो ठाकुररामको नाममा बाबुको सम्पत्ति नामसारी गर्न सहमति दिए । त्यो पनि ल्याप्चे ठोकेर । त्यहीँबाट समस्याको बीजारोपण भयो ।

‘विश्वास दाजुसँग थियो, ल्याप्चे लायौँ’ एकै मुख गरेर तीन भाइ भन्छन् । ‘दाजुको नागरिकतामा बाबुआमाको नाम फरक छ भन्ने हामीलाई थाहै थिएन’, केवल चौधरीले भने, ‘नामसारी गर्दा अड्डामा पनि कुनै सोधी–खोजी गरिएन । अहिले सम्पत्ति भाग लगाउन खोज्दा दाजु मान्दैनन् ।’ 

दाजुले चलाखी गरी सम्पत्ति हडपेको पीडितहरूको आरोप छ ।

बाआमा भेटिए, सम्पत्ति भेटिएन’



‘बाआमाको नाममा आठ बिघा पैतृक सम्पत्ति देखिन्छ । दाइको नाममा नामसारी गरेको पनि भेटिन्छ । तर, बाबुआमा फरक भएको कहीं कतै कसैले सुइँको सम्म दिएनन् । हाम्रा बाआमा तिनै हुन् । घरबास जोतभोग पनि त्यहीं गरिरहेका छौं । तर, जग्गा दाइको नाममा छ । दाइ दिन खोज्दैनन् । अड्डा धाउन लागेको धेरै भयो । अझै न्याय मिलेन’, कान्छा भाइ ओमप्रकाश चौधरीले भने, ‘न दाइलाई सजाय मिल्छ, न हामीलाई न्याय ।’

दाजुको फर्जी कामले भाइहरूले अधिकार नपाउँदा न्यायालयदेखि प्रशासन धाउनु परिरहेको उनले सुनाए । ‘हाम्रा बाआमाको नाममा रहेको जग्गा ठाकुरराम चौधरीको नाममा नामसारी देखिन्छ । दाजु भन्छन् हामी दाजुभाइ होइनौं । अंश पनि नखोज म फरक बाआमाको सन्तान तिमीहरूका फरक बाआमा, अब हामी अंश खोज्न कहाँ जाने ?’ उनले थपे ।
ठाकुरराम चौधरी अहिले भारतको अयोद्धा मन्दिरमा बसोबास गर्दै आइरहेका छन् । उनका चार भाइ छोराहरू छन् । दुई भाइ यहीँ बसोबास गर्छन् भने बाँकी दुई भाइ बाबुसँगै अयोद्धामा बसोबास गर्छन् । ठाकुरराम वर्ष दिनमा मात्रै घर फर्किने गर्दा न्याय पाउन नसकेको उनीहरूको भनाइ छ ।



‘ठाकुररामले छल गरे’

ठाकुररामको नागरिकतामा बाबुआमाको नाम फरक परे पनि उनी र बाँकी तीन भाइ एउटै बाबुआमाका छोराहरू हुन् । भाइहरूलाई ठाकुररामले सम्पत्ति ठग्ने मनसायले नै नागरिकतामा नाम फरक पारी सम्पत्ति हडपेको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको भनाइ छ ।

पीडित तीन दाजु-भाइले न्यायको माग गर्दै २०७६ साल माघ ५ गते राजपुर गाउँपालिका वडा नं. २ को कार्यालयमा निवदेन दिए । वडा कार्यालय हुँदै निवदेन गाउँपालिका न्यायिक समितिसम्म पुग्यो ।

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजकको रोहबरमा २०७६ माघ २१ गते छलफल भयो । छलफलले ठाकुराम भँगु र खुसीरामी चौधरीकै छोरा रहेको गाउँलेले सर्जमिन गरे । ठाकुररामले आफू भँगु र खुसीरामको छोरा रहे पनि भाइहरूलाई ठग्ने नियतले नै बाबुआमाको नाम फरक राखेको उपाध्यक्षको भनाइ छ । उनले ठोकुवा गरे– ‘किर्ते काम गरी दाइले भाइहरूको अधिकार खोसेकै हुन् ।’

‘नागरिकता टोलीको लापरबाही’

‘नागरिकता वितरण टोलीका यस्ता कमजोरी थुप्रै देखिन्छन् । ठाकुररामको गलत नियम र नागरिकता वितरण टोलीको लापरबाहीका कारण भाइहरू अन्यायमा परेका हुन्’, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत अम्मरराज शर्माले भने, ‘यो समस्या समाधान गर्न स्थानीय सरकारको अहम् भूमिका हुन्छ । तर, पीडक ठाकुरराम भारतमा बस्ने भएकाले पनि यस्तो समस्या आएको हो ।’

गलत नियतका कारण ठाकुररामले किर्ते गरे पनि सामाजिक प्रमाणका आधारमा पीडितलाई न्याय दिन सकिन्छ । प्रशासनले पीडितको न्यायका लागि आवश्यक प्रक्रिया थालनी गरे पनि पीडक ठाकुरराम नभेटिँदा समस्या परिरहेको उनले सुनाए ।

  • प्रकाशित मिति : मंसिर ८, २०७७ साेमबार १९:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया