आइतबारदेखि हराएकी बालिकाको शव बोरामा भेटियो : बलात्कारपछि हत्या भएको भन्दै स्थानीय आक्रोशित
बोरामा बालिकाको शव भेटिएको ठाउँ ।

आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति भेटेको हो । 

आइतबार साँझ घरआँगन वरपर नै खेलिरहेकी खातुन अचानक हराएपछि परिवार र प्रहरीले उनको खोजी गरेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । 

पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।



बालिकालाई बलात्कार गरेर हत्या गरेको स्थानीयले आशंका गरेका छन् प्रहरीले भने पोस्टमार्टमको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताएको छ । 

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरीले बताएको छ । ​



आरोपितको घरमा प्रहरीले समयमै खानतलासी नगरेको भन्दै आक्रोशित भिडले उनको घर र पसलमा तोडफोड गरेका छन् । स्थानीयका अनुसार उनको घरमा आगजनीकोसमते प्रयास भएको छ । राजमार्ग अवरुद्ध गरेर आगजनीको प्रयास भएको स्थानीयले बताएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिए पनि राजमार्ग भने अवरुद्ध रहेको छ ।  

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार ९:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया