विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएपछि गत वर्ष चैतदेखि बन्द भएको चिडियाखाना खुल्ने मिति अझै निश्चित भएको छैन।
चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा खुल्ने मिति तय नभएको हो।
विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो। लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले व्यवस्थापनले जनाएको छ।
मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ।
यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ।
हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन्। यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।
सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ। जङ्गली जनावरले समय–समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तिनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसरी मानव बस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएका अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ।
चिडियाखानामा थपियो डाँफे
विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ। जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षणकक्षमा राखिएको छ। अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।