फिल्मी शैलीमा अपहरणपछि किशोरीको सामूहिक बलात्कार, दुई युवक पक्राउ
बलात्कारपछि उपचार गराइरहेकी किशोरी

जनकपुर : आफन्त पर्ने एक युवकले फोन गरेर एक किशोरीलाई भेट्न बोलाउँछन् । किशोरी आएलगत्तै दुई युवक मुख बाँधेर अपहरण गर्छन् । अनी होटलमा लगेर तीन युवकले पालैपालो बलात्कार गर्छन् ।

यो कुनै फिल्मको कथा होइन् । मंसिर ३ मा धनुषाको मिथिला नगरपालिका-२ नकटाझिजमा भएको यथार्थ घटना हो यो । किशोरीकी मितिनीका देबर हुन् राजेश महतो । उनले फोन गरेर १८ वर्षीया स्थानीय किशोरीलाई बोलाएका थिए । 

घरबाट निस्केर सडकमा पुग्ने बित्तिकै किशोरीको मुखमा रुमाल कोचेर राजेश र उनका एक साथीले अपहरणको शैलीमा महोत्तरीको बर्दिबास लगे । त्यहाँका जय माँ पञ्चधुरा होटल एण्ड गेस्ट हाउसमा बन्धक बनाएर किशोरीमाथि तीन युवकले सामूहिक बलात्कार गरे ।

घण्टौंसम्म बलात्कार गरेपछि किशोरी बेहास् भएकी थिइन् । त्यसपछि तीनै युवकले किशोरीको घाँटी थिचेर हत्याको प्रयास समेत गरेका थिए । पीडित किशोरी भन्छिन्, ‘मेरै सलले पासो बनाएर पनि रुखमा झुण्ड्याई मार्न खोजेको थियो ।’ सलले बाँधेका कारण उनको घाँटीमा निलडाम देखिन्छ ।

रुखमा झुण्ड्याएर उनीहरु भागेलगत्तै एक जनाले देखेपछि आफूलाई उद्धार गरेको ति किशोरीले बताइन् । घाँटीमा लगाएको उनको सुनको सिक्री, कानमा लगाएको सुनकै बाली र मोबाइल समेत ती युवकले लुटेर लगेको उनको भनाइ छ ।

मृत्युको मुखबाट फर्केकी उनलाई बेहोस् अवस्थामा जनकपुरधाम ल्याएर प्रादेशिक अस्पतालमा भर्ना गराएको छ । अस्पतालको आइसीयू कक्षमा उनको उपचार भइरहेको छ ।



घटनामा संलग्न दुई युवक पक्राउ
घटना सार्वजनिक भएपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । अन्य एकजना अझै फरार छन् । उनको पनि प्रहरीले खोजी गरिरहेका छन् ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले घटनामा संलग्न २० वर्षीय शिवचन्द्र कृपाल महतो र १९ वर्षीय सरोज महतोलाई पक्राउ गरेको छ ।
 
उनीहरुबिरुद्व अपहरण तथा शरीर बन्धक, जर्बजस्ती करणी र कर्तव्य ज्यान उद्योग शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ । 



  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार ११:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया