क्यानोनिङमा बढ्दो आकर्षण

कोरोना भाइरस (कोभिड—१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ । संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका कारण बन्द रहेका पर्यटकीयस्थल सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयरदेखि देशका विभिन्न क्षेत्रमा क्यानोनिङ खुला भएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रूपमा रहेका यी क्षेत्र खुला हुन थालेसँगै पर्यटकको संख्या पनि बढ्दै गएको व्यवसायी बताउँछन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ ।

असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दसैँतिहारपछि भने व्यस्त हुन थालेको छ । हजारौँको संख्यामा क्यानोनिङ गर्ने स्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन केही समय लाग्ने निश्चित छ । लकडाउनपछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । 

प्रकृतिसँग रमाउन आउने मानिसको संख्या लकडाउनपछि बढेको भए पनि कोरोनाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका संचालनक राम गुरुङले बताए । कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उनले बताए । क्यानोनिङका गर्न जानेका लागि स्यानिटाइर, मास्क र भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको उनले बताए ।

२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङ गरिसकेका छन् । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुन्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १४:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया