नेपाल प्रहरीले देशका अधिकांश जिल्लामा कमान्डरको रुपमा पुरुष प्रहरीलाई जिम्मेवारी दिने गरेको छ। अझ संवेदनशील जिल्लामा त दोस्रो कमान्डरको रुपमा पनि पुरुषलाई नै प्राथमिकता दिइएको हुन्छ। महिला प्रहरी भनेको अधिकांश ठाउँमा पुरुष प्रहरीको सहयोगीका रुपमा मात्रै देखिन्थ्यो।
पछिल्लो समय प्रहरीमा पुरुषसँगै महिलालाई पनि जिल्ला कमान्डर बनाएर जिम्मेवारी दिन थालिएको छ। अहिले पनि केही जिल्लामा महिला एसपी तथा एसएसपीले प्रहरीको नेतृत्व गर्ने अवसर पाइरहेका छन्।
प्रहरी तथ्यांकअनुसार अहिले जिल्लाको इन्चार्ज तथा तालिम केन्द्र गरी इन्चार्जका रुपमा पाँच ठाउँमा महिला प्रहरीलाई पठाइएको छ। अहिले पर्सा, सिन्धुली, भक्तपुर र ललितपुर जिल्ला प्रहरीको कमाण्ड महिलाले सम्हालेका छन्। त्यसैगरी कर्णाली प्रहरी प्रदेश तालिम केन्द्र नेपालगन्जको कमान्डर पनि महिला प्रहरी नै छन्।
नेपाल प्रहरीले ०५२ सालबाट महिला इन्चार्ज पठाउन सुरुवात गरेको थियो। तर विभिन्न कारणले त्यो सिलसिला ०६३ सालसम्म रोकियो। ०६३ पछि फेरि महिला इन्चार्ज पठाउन थालिएको छ।
हाल चार जिल्लाको कमाण्ड सम्हालिरहेका महिला प्रहरीहरु संगठनले दिएको जिम्मेवारी पूरा गर्न डटिरहेका छन् ।
काममा इमान्दार बन्दा पनि समस्या
गंगा पन्त, एसपी, पर्सा
गंगा पर्सा प्रहरी प्रमुखको जिम्मेवारीमा आएको करिब एघार महिना भएको छ। यसअघि धेरै ठाउँमा युनिट इन्चार्ज भएर काम गरिसकेकी उनी राजधानी काठमाडौंमा वृत्त इन्चार्ज भएर जिम्मेवारी सम्हाली सकेकी छिन्।
प्रहरी निरीक्षकदेखि एसपी हुँदासम्म संगठनले पत्याएर धेरै ठाउँमा इन्चार्जको जिम्मेवारी दियो। उनी २०६३ र ६४ मा महानगरीय प्रहरी प्रभागको प्रमुख, २०६९ सालमा बालाजु वृत्तको इन्चार्ज थिइन्। त्यसपछि २०७३ र ७४ मा पर्वत जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी पाइन्। अहिले संगठनले उनलाई पर्सा प्रहरीको कमान्डर बनाएर पठाएको छ।
२०५६ सालदेखि दुई दशक लामोे प्रहरी सेवामा थुपै्र आपराधिक घटनाको सफल अनुसन्धान गरेको पन्तले सुनाइन्। ‘यही विश्वासले पनि होला संगठनले मलाई इन्चार्जको विभिन्न ठाउँमा पठाउने गरेको छ ।’ उनले भनिन्, ‘म मात्रै होइन अहिले त देशका महत्वपूर्ण ठाउँमा समेत इन्चार्जमा महिला प्रहरीलाई पठाउन थालिएको छ ।’
संगठनले जिम्मेवारी दिए पनि समाजमा महिलाको क्षमतामा विश्वास नगर्ने प्रवृत्ति कायम रहेको गंगाको बुझाइ छ। ‘प्रहरीमा भर्ना हुँदा पुरुष र महिला प्रहरीले लिने तालिम एउटै हुन्छ। एउटै प्रक्रियामा भर्ना भइन्छ ।’ उनी सुनाउँछिन्, ‘जो जहाँ गएपनि ऊ भित्र पुलिसिङ गर्ने सक्ने आँट र क्षमता हुन्छ। त्यसैले महिलालाई प्रमुख बनाउनु कुनै ठूलो कुरा होइन ।’
इन्चार्जका रुपमा महिला प्रहरीलाई समाजले हेर्ने दृष्टिकोणप्रति पन्तको गुनासो छ। समुदायले प्रहरी इन्चार्जमा पुरुष नै आइदेओस् भन्ने चाहाना राख्ने गरेको महसुस उनले गरेकी छिन्। महिलामा हुने कामप्रतिको इमान्दारितालाई पनि समाजका केही व्यक्ति तथा समूहले नरुचाउने गरेको उनको बुझाइ छ।
पुरुष प्रहरी प्रमुख हुँदा धेरै व्यक्तिसँग भेटघाट हुने, अबेर रातिसम्म बसेर विभिन्न व्यक्तिसँग खाजा, नास्ता खाने, प्रशासनका अन्य व्यक्तिसँग बढी समय सँगै रहने जस्ता कार्य सहज हुने गर्छ। महिला प्रमुख हुँदा यी कुराहरु नहुने भएको हुँदा महिला प्रमुखलाई गर्ने व्यवहार र हेर्ने दृष्टिकोणमा फरक हुने अनुभव पन्तले गरेकी छिन्।
संगठनभित्रकै केही व्यक्तिमा पनि महिला प्रहरीको नेतृत्वप्रति विश्वास र भरोसा कम रहेको उनी सुनाउँछिन्। ‘प्रहरी प्रमुखमा व्यवसायिक र दक्ष भन्दा पनि रफटप व्यक्ति खोज्ने प्रवृत्ति छ’ पन्त भन्छिन्, ‘जुन महिला इन्चार्जमा बहुत कम पाइन्छ ।’ नियम कानुन बुझेका व्यक्तिहरुले चाँही महिला इन्चार्जलाई राम्रोसँग रुपमा लिने गरेको पन्तले बताइन्।
‘महिला भएकै आधारमा मनोबल खस्काउन खोज्नेहरु पनि छन् ‘जिल्ला महिलाले चलाउँन सक्छ र ?’ कसैकसैबाट यस्तो प्रश्न सुन्दा नराम्रो लाग्छ ।’ उनी भन्छिन्। संगठनले विश्वास गरी जिम्मेवारी दिएर पठाउँदा पनि महिलाले पाइला–पाइलामा दक्षताको प्रमाण पेश पर्ने पन्तको भोगाइ छ।
महिला कर्मचारीहरुले पद अनुसार सम्बोधन नपाउने र ठूलो पदमा महिलालाई स्वीकार गर्न नचाहने प्रवृत्तिप्रति गंगा दुःखी छिन्। ‘पुरुष इन्चार्जलाई सम्बोधन गर्दा ‘सर’ भनेर व्यवसायिक सम्बोधन गर्ने परम्परा छ महिला इन्चार्जलाई बहिनी, दिदी, अन्टी भनी सम्बोधन गरिन्छ, सारै नराम्रो लाग्छ’ उनी सुनाउँछिन्।
संगठनले विश्वास गरी जिम्मेवारी दिन थालेपछि र महिलाले सफल नेतृत्व गरेपछि महिला प्रहरीप्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तन हुन थालेको पन्तको बुझाइ छ।
महिला इन्चार्ज भएको ठाउँमा तुलनात्मकरुमा सिस्टम राम्रो हुने दावी उनको छ।
पुरुष इन्चार्जको जस्तो समाजमा सम्बन्ध हुँदैन
रञ्जु सिग्देल, एसपी सिन्धुली
रञ्जुका लागि जिल्ला कमान्डरको पहिलो अनुभव नै सिन्धुली हो। उनी सिन्धुलीको इन्चार्ज भएको खटिएको करिब ११ महिना भयो। ‘यो मेरो लागि पहिलो अनुभव हो। मलाई यो सामान्य लागेको छ ।’ रञ्जु भन्छिन्, ‘जसरी पुरुष प्रहरी कमान्डर भएर जान्छन्, त्यही प्रक्रियाबाट महिलाहरु पनि इन्चार्ज हुने हुन् ।’
राष्ट्रपतिदेखि प्रधान न्यायाधिशसम्म महिला बनिसकेको र राम्रो काम गरेर देखाएकाले प्रहरीमा पनि महिलाहरुको कामप्रति विश्वास बढ्न थालेको उनी बताउँछिन्। यही विश्वासकै कारण राजधनीकै जिल्लादेखि अति संवेदनशील जिल्ला मानिने तराईका जिल्लामा महिला कमान्डरले अवसर पाएको उनको बुझाइ छ।
जिम्मेवारी पाएका सबै ठाउँमा महिला प्रहरीले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै उनी गर्व गर्छिन्। महिला कमान्डर भएको ठाउँमा अझ बढी नियम कानुनको पालना हुने गरेको भनी आम नागरिकबाट प्रतिक्रिया आउने गरेको उनले सुनाइन्।
महिला कमान्डरहरुको बाहिरी सम्बन्ध हुने भएकाले काममा नहुने तर पुरुषहरुले समुदायका व्यक्तिसँग व्यक्तिगत सम्बन्ध पनि बनाउने हुनाले काममा केही समस्या हुने रञ्जुको तर्क छ। ‘फलानो ‘एसपी’ साहेबले मेरो नहुने यस्तो काम गरदिनु भएको थियो। तर तपाई साह्रै कडा हुनुहुँदोरहेछ’ सेवाग्राहीले हामीसँग यस्तो गुनासो गरिरहेका हुन्छन् ।’ उनी अनुभव सुनाउछिन्, ‘हो समाजसँगको हाम्रो सम्बन्धमा ‘दूरी’ रहन्छ। किनकी हामीले धेरै व्यावसायिकताको कुरा गर्ने गरेका छौँ ।’
आफू कार्यरत जिल्लामा पुरुष कमान्डर हुँदाका बेलाको तुलनामा कुनै कुरामा पनि कमी नभएकोमा रञ्जु विश्वस्त छिन्। ‘बरु अझ बढी स्ट्रीट भएर काम गरेको छु। अपराध न्यूनीकरणमा पनि कुनै कसर बाँकी राखेको छैन। सबैसँग व्यवसायिक सम्बन्ध बनाउने गरेकी छु ।’ रञ्जु भन्छिन्। ०५८ सालमा प्रहरी सेवामा प्रवेशदेखि नै एउटा पनि काम नियम भन्दा बाहिर गएर नगरेको उनको दावी छ। अन्य महिला प्रहरी इन्चार्जको हकमा पनि यो कुरा लागुहुने उनी बताउछिन्।
महिला प्रहरीमा विश्वास जगाउने गरी प्रभाव छाड्छु
किरण बज्राचार्य, एसएसपी ललितपुर
महानगरी प्रहरी परिसर रानीपोखरीबाट उनी ललितपुरको इन्चार्ज भएकी हुन् किरण। काठमाडौंपछि दोस्रो चुनौतीपूर्ण मानिएको जिल्लाको नेतृत्व गर्न पाएकोमा उनी निकै गौरवान्वित पनि छिन्। ‘संगठनले ममाथि विश्वास गरेर उपत्यकाको एक महत्वपूर्ण जिल्लामा खटाएको छ। कडा मिहिनेत गरेर संगठनले दिएको जिम्मेवारी पूरा गर्नेछु।’
उनी प्रतिवद्धता व्यक्त गर्छिन्। आफ्नो कुनै व्यक्तिगत योजना नहरेको र संगठनले दिएको कार्ययोजनामा खरो ढंगले प्रस्तुत हुने तयारी रहेको उनले बताइन्। आफ्नो कामको प्रभावले संगठन भित्रका अन्य महिलाप्रति थप विश्वास जगाओस् भन्ने चहान किरणको छ ‘मेरो कामले गर्दा अन्य महिला अफिसरहरुमाथि संगठनको विश्वास बढोस्।’
अहलिे देशभर यूनिटमा इन्चार्जको रुपमा प्रहरी संगठनले जति महिलालाई पठाउन थालेको छ, यो माया र आर्शीवादले नभई महिला प्रहरीकै क्षमताले पाएको भन्नेमा उनी दृढ छिन्। ‘जुनसुकै ठाउँमा महिला कमान्डरहरु पनि काम गर्न सक्छन् भन्ने विश्वासले जिम्मेवारी दिन थालिएको छ’ उनी भन्छिन्, ‘कामको राम्रो ‘रिजल्ट’ पनि आएकोले यसमा थप बल पुगेको छ ।’
सुरुसुरुमा त इन्चार्जको अवसर पाउन निकै गाह्रो हुने गरेको उनको अनुभव छ। अहिले क्षमता र दर्जा अनुसार महिला प्रहरीलाई स्थान दिन थालिएको उनी बताउँछिन्।
प्रहरी सेवामा प्रवेश गरेदेखि अहिलेसम्म संगठनमा कडा प्रतिस्पर्धा गरेरै अहिलेको ठाउँमा आइपुगेको किरण सुनाउँछिन्। ‘जिल्लामा गएर काम गर्न सकिन्छ भनी दावीका साथ माग गरी प्रतिस्पर्धीको रुपमा अगाडि आएको हुँ ।’ कर्ममा उनी दृढ छिन्, ‘यो दावा पूरा गरेर समेत देखाउने छु ।’
यसअघि भक्तपुरमा बस्दा पनि पुरुष इन्चार्जको भन्दा कम काम नगरेको उनको दावी छ। प्रहरीको मुख्य लक्ष्यलाई नै लक्षित गरी अहिलेसम्म काम गरिएको र अब पनि त्यही गर्ने योजना उनको छ। समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेकोमा भने किरण दुःखी छिन्। ‘यो महिला हो, यसले गर्न सक्दिन, यी ‘माइन्डसेट’ शब्दले हामीलाई दुःख लाग्छ ।’
महिला होइन एसपी भएकाले जिम्मेवारी पाएँ
तारा थापा, एसपी, भक्तपुर
एसपी तारा भक्तपुर जिल्लाको कमान्डर भएर आएको पनि करिब ११ महिना भएको छ। आफू महिला भएको भन्दा पनि एसपी भएका कारण प्रहरीले जिम्मेवारी दिएको उनी बताउँछिन्।
तारा ०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेको थिइन्। जिल्ला इन्चार्जका रुपमा उनको पनि यो पहिलो जिल्ला हो। आफूलाई जिल्ला इन्चार्जका रुपमा आउँदा कुनै अचम्म नलागेको उनले सुनाइन्। तारा भन्छिन् ‘पुरुष कमान्डर सरह नै काम पनि गरिरहेको छु। कानुनको पालना गराउँनबाट एक इन्च पनि डगमगाएको छैन।’
कर्तव्य पालनाका बेला आफूलाई महिला भन्दा पनि नेपाल प्रहरीको एक एसपी ठानेर काम गर्ने गरेको उनी सुनाउँछिन्। आफूसँग महिला भएकै आधारमा कसैले कुनै किसिमको फरक व्यवहार नगरेको उनको अनुभव छ।
संगठनले जहाँ–जहाँ जिम्मेवारी दिएको छ त्यो महिला भन्दा पनि सांगठनिक हैसियतका कारण पाएको तारा बताउँछिन्। ‘महिला र पुरुष एउटै प्रक्रियाबाट प्रहरीमा आएका हुनाले सबैप्रति सामान व्यवहार गरेर संगठनले स्थान दिन थालेको हो ।’ उनको बुझाइ छ, ‘मेरो विचारमा यो सामान्य कुरा हो ।’ प्रहरीले कानुन अनुसार काम गर्ने र आफूले पनि कानुन बाहेक केही नगरेको उनी भन्छिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।