इन्टर्न डाक्टर पिपिईबिना कोरोना बिरामी हेर्ने, अस्पताल चर्को शुल्क असुल्ने
प्रदर्शन गर्दै भैरहवा मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टरहरू ।

कुनै सुरक्षा सामग्रीबिना र अति न्यून तलबमा कोभिड बिरामीको उपचारमा खटाएको भन्दै भैरहवा मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टरहरू आन्दोलनमा उत्रिएका छन्। 

एमबीबीएस अध्ययनपछि एक वर्ष इन्टर्नसिप गर्नै पर्ने नियमका आधारमा अहिले भैरहवा मेडिकल कलेजमा ८२ जना इन्टर्न डाक्टरले इन्टर्नसिप गरिरहेका छन् । मेडिकल कलेजले उनीहरूलाई मासिक १०, ८९० तलब तोकेको छ। ९४४५ रुपैयाँ रहेकोमा भर्खरै मात्रै १४४५ बढाइएको हो। 

 अन्य मेडिकल कलेजहरूमा इन्टर्न डाक्टरहरूलाई कोभिड वार्डमा काम गर्न अनिवार्य गरिएको छैन । तर यस अस्पतालमा सुरुदेखि नै कोभिड बिरामीको उपचारमा खटिन अनिवार्य गरिएको आन्दोलनरत इन्टर्न डाक्टरले बताएका छन् ।  

उनीहरूका अनुसार अस्पतालले कोभिड बिरामीबाट बेड चार्ज मात्रै दैनिक ३५ सयदेखि २० हजारसम्म लिने गरेको छ । संक्रमितको उपचारमा खटिने इन्टर्न डाक्टरहरूलाई पिपिई लगायतका कुनै सुरक्षा सामाग्री उपलब्ध नगराएको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ । मास्कको भरमा संक्रमित बिरामीको उपचार गर्नुपरेको उनीहरूको गुनासो छ।

अहिलेसम्म  कोभिड बिरामीको उपचारमा खटिने १८ जना इन्टर्न डाक्टरलाई कोभिड संक्रमण भइसकेको  एक  इन्टर्न डाक्टरले जानकारी दिएका छन् । उनका अनुसार कोभिड संक्रमण भएका इन्टर्न डाक्टरलाई राख्न कुनै व्यवस्थित वार्ड पनि बनाइएको छैन । होस्टलमा पनि छिर्न दिइँदैन । कोभिड संक्रमण भएपछि झापा नेपालगन्जसम्मका इन्टर्न डाक्टरहरूलाई  मेडिकल कलेजले घर जान बाध्य बनाएको उनीहरूले जानकारी दिएका छन् । 



यसअघि गत असारमा पनि इन्टर्न विद्यार्थीहरूले  मेडिकल कलेज व्यवस्थापनसमक्ष विभिन्न माग राख्दै संघर्ष गरेका थिए । सो समयमा माग पूरा गर्ने कोभिड उपचारमा खटिनेहरूलाई स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने भनी लिखित सहमति गरिएको थियो । तर ती कुनै सहमति लागु नभएपछि फेरि संघर्षमा उत्रिनु परेको इन्टर्न डाक्टरहरूले बताएका छन् ।  



 भैरहवा मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरहरूलाई दिइने तलब ५ वर्षदेखि नबढाइको उनीहरूले जानकारी दिएका छन् ।   धेरै असन्तुष्टिपछि मेडिकल केलेजले केहीदिनअघि मात्रै थोरै तलब बढाएर आखाँमा छारो हाल्न खोजेको उनीहरूको गुनासो छ ।  कोभिड सुरु भएदेखि अस्पतालका सबै सेवा शुल्क बढाइएको छ । क्यान्टिनमा खाजा, खानाको पनि शुल्क बढाइएको तर आफूहरूलाई कुनै सुरक्षाबिना कोभिड बिरामीको उपचारमा खटाएर अस्पतालले बिरामीबाट चर्को असुली गरिरहेको इन्टर्न डाक्टरहरूको भनाइ छ । 

एकसातादेखि इन्टर्न डाक्टरहरू आन्दोलनरत रहेको एक इन्टर्न डाक्टरले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १९:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया