समृद्धिका लागि पार्टी एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको समृद्धिका लागि पार्टी एकतालाई  सुदृढ बनाउनु आवश्यक रहेको बताएका छन् । पार्टीभित्र देखिएको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘पार्टीको फुटले न त देशलाई समृद्धि दिन सक्छ न त कसैलाई फाइदा नै ।’

नेकपा स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरी अतिथि गैह्रेको निधनको नवौँ दिनको पुण्य तिथिमा मंगलबार स्याङ्जाको गल्याङ–९ गेझास्थित घरमा आयोजित श्रद्धाञ्जलि सभामा उनले पार्टीको एकतालाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए ।

‘हिजो जनताकै चाहनाले पार्टी एक भएको हो’, मुख्यमन्त्री गुरुङले भने, ‘एक भएका कम्युनिस्ट व्यक्तिले चाहेर अलग हुन सक्दैनन् ।’ श्रद्धाञ्जलि सभामा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, संविधानसभा सदस्य अमृता थापा मगर, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सांसद मीनप्रसाद गुरुङ र नेकपा नेता शैलेन्द्र घिमिरे उपस्थित  थिए ।

नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेकी छोरी १३ वर्षीया अतिथि यही मङ्सिर १ गते भाइटीकाका दिन अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पोखरामा सोही दिन निधन भएको थियो ।





  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार २०:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया