कोरोना खोप प्राप्तिका लागि कूटनीतिक नोट : ८० प्रतिशतलाई लक्षण देखिन्न

सरकारले कोभिड-१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको छ ।

कोरोनाविरुद्ध तेस्रो चरणको  खोप परीक्षणमा रहेका  भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै रहने निचोडका साथ खोपका माध्यमबाट सहजरूपमा उपचार होस् भनी सरकार त्यसमा जुटेको हो । 

कोभिड–१९ बाट मुलुकमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।

८० प्रतिशतलाई लक्षण देखिन्न 

सङ्क्रमित मध्ये ८० प्रतिशतभन्दा बढीलाई लक्षण नदेखिने कारणले केहीलाई यो रोग केही होइन भन्ने मनोवैज्ञानिक भ्रम परेको चिकित्सक बताउँछन । सक्रिय सङ्क्रमितमध्ये हाल ८२ प्रतिशत नागरिक होम आइसोलेसनमा छन् ।



कोभिड–१९ को नेपालमा हालसम्म १६ लाख ५० हजार भन्दाबढीको पिसीआर परीक्षण भइसकेको छ । अहिले मुलुकका ७६ स्थानमा परीक्षणको व्यवस्था गरिएको छ।

सरकारले औषधिको सहज आपूर्तिका लागि आयात गर्न आवश्यक ऐन कानूनलाई परिमार्जन गरिसकेको जानकारी दिएको छ ।



धेरैभन्दा धेरै अस्पतालमा अक्सिजनसहित शय्या व्यवस्थापन र सहजरूपमा औषधि आपूर्ति गर्ने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।

खोप उत्पादन हुनसाथ सरकार–सरकारबीचको सहमति तथा विश्व स्वास्थ्य सङ्गठनलगायतका सङ्घसंस्थाका माध्यमबाट समेत ल्याउने योजना बनाइएको छ ।

कोरोनाले विश्वका शक्ति र सामथ्र्य भएका  मुलुकलाई समेत तहसनहस बनाएका जनाउँदै सरकारले निःसन्देह महामारी विरुद्ध सबै लिङ्ग, जाति, क्षेत्र भूगोल र समुदाय एकाकार भई अभियानमा जुट्न पटकपटक आह्वान गरेको छ ।

२० प्रतिशतलाई खोप सुनिश्चित

केही ढिलो भए पनि कुल जनसङ्ख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।

खोपलाई ६० अर्ब

खोपको प्रभाव, मूल्य र आउने सुनिश्चितता अझै यकिन भइसकेको छैन । गाभी–कोभ्याक्स् नामक संस्थाले  नेपालको जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने लागत मूल्यको २० प्रतिशत सहुलियत मूल्यमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने वचन दिइसकेको छ । उक्त खोपका लागि करिब रु ६० अर्ब लाग्ने भएकाले रकमको व्यवस्थापन पनि चुनौतीकै रूपमा छ ।

नेपालमा उक्त खोप प्राप्त भइसकेपछि सबैभन्दा पहिला कसलाई दिने भनी प्राथमिकता निर्धारण गर्नुपर्ने छ । तथापि स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा रहेर काम गर्ने  र  ५५ वर्ष उमेर समूहमाथिलाई प्राथमिकता दिनुपर्ने एकखाले सुझाव प्राप्त भएको जानकारी दिइएको छ । सम्भावना, प्रभावकारी र मुलुकको क्षमताका आधारमा ती खोपको छनोट हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

दोहोर्याएर भएको विरलै

विश्वमै अहिलेसम्म कोभिड-१९ को उपचार नभएको, एकै व्यक्तिलाई दोहोर्याएर सङ्क्रमण भएको घटना विरलै रहेको तथा जुन देशका राजनीतिक दल र जनप्रतिनिधि प्रतिकार्यको अभियानमा जुटेका छन् ती मुलुकमा सङ्क्रमणको असर निकै कम रहेको मन्त्रालयको जिकिर छ ।  

अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने, निस्किन परे पनि दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित हात धुने तथा सेनिटाइजर र मास्कको प्रयोग गर्नाले कोरोनाको जोखिमबाट सहजै बच्न सकिने पक्षमा ध्यान दिन मन्त्रालयले समाजका सबै तहतप्कालाई आग्रह गरेको छ । 

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ७:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया