बर्दिबास बालिका हत्या घटना : प्रहरीको गोलीले घाइते एक जनाको मृत्यु

महोत्तरीको बर्दिबासमा मंगलबार बिहान भएको झडपमा प्रहरीको गोली लागेका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।  

आइतबार साँझदेखि हराइरहेकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव सोमबार मध्यरातमा झाडीमा बोरामा फालिएको अवस्थामा भेटिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

बालिका हत्याको आरोपमा पक्राउ परेका गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहको घरमा स्थानीयले तोडफोड र आगजनी गरेपछि  प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो । 

बालिका हत्याको विरोधमा उत्रिएका न्यौपानेलाई प्रहरीको गोली लागेपछि उपचारका लागि हेलिकोप्टरबाट मंगलबार काठमाडौं ल्याइएको थियो । 

न्यौपानेको ग्रान्डी अस्पतालमा उपचारको क्रममा गएराति १ बजे मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । 

उनीसँगै गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युले बर्दिवासमा थप तनाव हुने देखिएको छ । मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको बर्दिबासमा सुरक्षा व्यवस्था भने कडा पारिएको सीडीओ कटुवालले बताए । अवस्था हेरेर सुरक्षाको विषयमा थप निर्णय हुने उनको भनाइ छ ।



 

आरोपितको घरमा प्रहरीले समयमै खानतलासी नगरेको भन्दै आक्रोशित भिडले उनको घर र पसलमा तोडफोड गरेको थियो । 



स्थानीयको आक्रोशित भिडले पूर्व–पश्चिम राजगमार्ग टायर बालेर बन्द गरेका थिए ।

स्थानीयले राजमार्ग अवरुद्ध गर्दै घरमा आगलागी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको थियो । सोही क्रममा गोली लागेका न्यौपानेको मृत्यु भएको हो । 

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार ८:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया