नेपाल सरकारले कोरोना भाइरस विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाएको छ ।
सरकारले कोरोनाविरुद्धको खोप तेस्रो चरणको परीक्षण गरिरहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलियालाई कूटनीतिक नोट पठाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) नआएसम्म मानिसको दैनिकी हालकै अवस्थामा रहने निचोडका साथ खोपका माध्यमबाट सहज रूपमा उपचार होस् भन्ने कार्यमा सरकार लागेको उनको भनाइ छ । राज्यको स्रोत र सामर्थ्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको मन्त्री ढकालले बताए ।
कोभिड–१९ बाट नेपालमा हालसम्म दुई लाख २४ हजार ७८ जना संक्रमित भइसकेका छन् भने एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ ।
नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई खोप प्राप्त गर्ने सुनिश्चितता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । ’अरु देशका नागरिकले खोप प्रयोग गर्दा हाम्रा नागरिकले पनि प्रयोग गर्न सकुन् भनेर सरकार त्यो काममा जुटिरहेको छ,’ गौतमले भने ।
माथिल्लो उमेर समूहका लागि भ्याक्सिन बने पनि अहिलेसम्म १२ वर्षमुनि उमेरका बालबालिकाका लागि खोप बनेको छैन । विश्वका विभिन्न मुलुकमा कोभिड–१९ विरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।