चालू आर्थिक वर्ष २०७७\७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आएको छ भने निर्यात वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो चार महिनाको तथ्यांकअनुसार आयातमा १० प्रतिशत कमी आएको छ भने निर्याततर्फ १० प्रतिशतको वृद्धि देखिएको हो ।
तथ्यांक अनुसार समीक्षा अवधिमा ४ खर्ब दुई अर्बको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कम हो । यसैगरी, सोही अवधिमा ४० अर्ब २० करोड बराबरको विभिन्न सामग्री निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।
तथ्यांक अनुसार चार महिनाको अवधिमा चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले तीन अर्ब ६२ करोड रुपैयाँ घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशतले कम हो ।
गत आवको सोही अवधिमा चार खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।
गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।