कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्दै चीन र जापान

जापान र चीनका विदेश मन्त्रीबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । भाइरसका कारण प्रभावित दुवै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ ।

जापान भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षी तोसिमिचु मोटेगीले दुवै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः शुरु गर्ने निर्णय भएको छ । विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् ।

जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरु हुनेछ, जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिका लागि १४ दिने क्वारेन्टाइनका नियम लागु हुने छैनन् । जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागु गरिसकेको छ ।

यद्यपि, जापानमा पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमणको दर केही बढेको छ । सरकारले रोग नियन्त्रण र आर्थिक क्रियाकलापलाई सँगसँगै लैजाने नीति अबलम्बन गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भने, ‘नयाँ सहमतिहरुले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि यो उपयोगीसिद्ध हुनेछ ।’

कोरोनाभाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो ।



दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहासलाई लिएर संकटमा पर्ने गरेको छ । तर, पछिल्ला केही वर्षदेखि दुबै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । 

अमेरिकाका एउटा प्रमुख मित्रराष्ट्रका रुपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रुपमा लिन थालेको छ । जापानले चीन र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ ।
 



  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १५:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया