बुधबार सेयर बजार परिसूचक नेप्से ६४.७० अंकले बढेर १८७४.८१ ऋ.कमा पुगेको छ । अब सेयर बजार अहिलेसम्मकै उच्चतम अंक १८८१ भन्दा करिब ७ अंकमात्र तल छ ।
होटल बाहेक सबै सूचक बढेको बुधबार १९६ कम्पनीको ५ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
लामो समयदेखि उतारचढाव गर्दै रहेको बैंकिङ समूहको सूचक बुधबार ४० अंकले बढेको छ । बैंकिङसँगै बीमा, ब्यापार, उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले समेत कमाएका छन् । पर्यटन उद्योग ठप्प भएसँगै घाटाको वासलात निस्कन थालेकाले होटल समूहको परिसूचक भने ओरालो लागेको छ ।
बैंकिङ समूहका २६ वटै बैंकको सेयर मूल्य बढेको छ भने जीवन बीमाका पनि नौ वटै कम्पनीको मूल्य सकारातमक बनेको छ । त्यसैगरी, निर्जीवनबिमा समूहका पनि २० वटै कम्पनीको सेयर मूल्य बढेको छ ।
ट्रेडिङमा विशाल बजार र एसटीसी दुवैको मूल्य बढेको छ भने उत्पादन तथा प्रशोधनतर्फका शिवम्, हिमालयन डिस्टिलरी, युनिलिभर नेपाल र बोटलर्स नेपाल तराईको सेयर मूल्य बढेको छ ।
बजारमा तरलता बढेसँगै ब्याज दर अझै घट्ने समाचारका साथै प्राविधिक विश्लेषकले अझै बजार बढ्ने देखिएकाले पनि बजारमा उच्च वृद्धि देखिएको विश्लेषकको भनाइ छ । पछिल्लो समयको वृद्धि हेर्दा परिसूचक २२ सयभन्दा माथि जाने विश्लेषणसमेत हुन थालेको छ ।
बुधबार विशाल बजारसँगै एनएमबि माइक्रोफाइनान्सको सेयरमा पनि बढेर सर्किट लागेको छ । नेपाल टेलिकम, नेपाल रिइन्स्योरेन्स कम्पनी, एलिको इन्स्योरेन्स, शिवम् सिमेन्ट, अरुण काबेली जलविद्युत, ङादी ग्रुप पावरलगायतले सर्वाधिक कमाएका छन् । उच्च अंकले बढेको बजारमा २२ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजारमा उच्च वृद्धि भएपनि लक्ष्मी इक्वुटी फण्डका इकाईधनीले सबैभन्दा धेरै ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।