बर्दिबास घटना : प्रहरीले राज्यशक्तिको दुरुपयोग गर्दा उल्टो परिणाम

महोत्तरीको बर्दिबास नगरपालिका १४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन मंगलबार मध्यराति नजिकैको झाडीमा मृत फेला परिन्। आइतबार साँझ उनी नजिकैको पसलमा चकलेट किन्न गएकी थिइन्।

 जानकारीमा आए अनुसार  पसलेले उनलाई गायब पारे। पसले स्थानीय अरुण साहले आफ्नै घरमा उनलाई बलात्कार गरे अनि हत्या गरी बोरामा प्याक गरेर नजिकैको झाडीमा फाले। बालिकाको बलात्कारपछि हत्या गरी शव फालेको खबर बुधबार बिहान आगोझैँ फैलियो। स्थानीय आक्रोशित बने। बालिकाका आफन्त र स्थानीयले बिहानैदेखि सडकमा प्रदर्शन सुरु गरे। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो।

आरोपी साह पक्राउ परिसकेका थिए। तर पनि प्रदर्शनमा उत्रिएका भीडको  आक्रोश रोकिएन।  आक्रोशित प्रदर्शनकारीले आरोपी साहको घरमा ढुंगामुढा गरे अनि आगो झोसेर घर नै खरानी बनाए। प्रदर्शन मत्थर पार्ने प्रयास गर्नुको साटो सुरक्षाकर्मी पनि उत्तेजित बने। प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्साए। तीन प्रदर्शनकारी घाइते भए। गम्भीर घाइते सञ्जय न्यौपानेलाई तत्कालै हेलिकप्टरबाट काठमाडौं लगियो। उपचारकै क्रममा उनको मृत्यु भयो। 

बालिका बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको विरोधमा उत्रिँदा एक युवाले अनाहकमा ज्यान गुमाए।  

न्यौपानेको मृत्युपछि बुधबार बर्दिबासका स्थानीय झन् आक्रोशित बनेका छन्। स्थानीय प्रशासनले प्रदर्शन साम्य पार्न र राजमार्ग खुलाउन बिहानैदेखि निषेधाज्ञा जारी गरेको छ। तर आक्रोशित भीडले निषेधाज्ञाको मतलब गरेका छैनन्।  प्रदर्शन जारी राखेको छन्। 



प्रहरी उत्तेजित बन्दाको परिणाम

शान्ति सुरक्षा कायम गर्नु र जनधनको क्षति हुन् नदिनु प्रहरीको दायित्व हो भीड  नियन्त्रण गर्ने कार्यविधि पनि कानुनमा उल्लेख छ। अन्तिम विकल्पको रुपमा मात्रै गोलीको प्रयोग गनुपर्ने हुन्छ। कानुनी दायराभन्दा बाहिर गएर राज्यले दिएको बन्दुक र गोलीको जथाभावी प्रयोग गर्दा त्यसले घटनालाई साम्य बनाउने भन्दापनि थप उत्तेजित बनाउन मद्दत गर्छ। 



मंगलबार बर्दिबासमा त्यस्तै भयो। गुलाब हत्याको विरोधमा सडकमा उत्रिएको भीडल उग्र भयो। विभत्स घटनाबाट विक्षिप्त भएर आक्रोशमा आएकाको भीडलाई साम्य पार्न सम्झाइ, बुझाइ गर्नु आवश्यक थियो। 

भीड नियन्त्रण गर्न अश्रुग्यास हान्ने, पानीको फोहर,  लाठीचार्ज र त्यसपछि मात्र हवाई फायर गर्ने कानुनमा उल्लेख छ। हवाई फायरबाट पनि भीड साम्य भएन भने मात्र घुँडामुनि रबरका गोली प्रहार गर्न पाउन कानुनमा उल्लेख छ। 

तर प्रहरीले बर्दिबासमा अन्धाधुन्ध गोली चलायो। विधि, प्रक्रियामा कुनै मतलब गरेन। एकै जनालाई चार गोलीसम्म प्रहार गरिएको छ। प्रदर्शनकारीको टाउको ताकेर गोली हानिएको छ। गोली लागेर एक जनाको ज्यान गुमेको छ। 

गुलाबको हत्या गर्ने हत्यारा र अपराधी हो साथै कानून मिचेर राज्य शक्तिको जथाभावी प्रयोग गर्ने र गोली चलाएर जनता मार्ने काम पनि सानो अपराध होइन। प्रहरीले शक्ति प्रयोगमा विधि नमान्दा एक नागरिकले ज्यान गुमाउनु पर्‍यो। दुई जना घाइते अवस्थामा जीवन मरणको दोसाँधमा छन्। 

गुलाब शाहको हत्याको पीडाले रन्थनिएका बर्दिबासबासी न्यौपानेको मृत्युपछि झन आक्रोशित बनेको छ। यो स्वभाविक पनि हो। स्थानीय प्रशासनले निषेधाज्ञालाई वेवास्ता गर्दै सडकमा आगो बालिएको छ। स्थानीय उग्र देखिएका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले संयमता गुमाउँदा  बर्दिबास शान्त हुनुको सट्टा झन् तनाबग्रस्त बन्ने देखिएको छ । 

न्यायको अनुभूति गराउन आवश्यक

६ वर्षकी एक अबोध बालिकाको बलात्कारपछि हत्या गरिएको यो टघनाको जति निन्दा गरेपनि कम हुन्छ। सुन्दैमा आङ सिरिङ्ग हुने विभत्स हत्याको घटना सुन्दा, देख्दा जो केहीमा पनि आक्रोशमा आउनु स्वभाविक हो।  तर आगजनी र तोडफोडले कसैको हित गर्दैन र कुनै समाधान पनि दिँदैन। त्यसकारण बर्दिबासका जनताले पनि संयमता अपनाउन आवश्यक छ। तर प्रहरीले सडकमा ओर्लिएका जनताको मनोभावना र संवेदनशीलता नबुझी अन्धाधुन्ध गोली चलाउनु निश्चय पनि क्षमायोग्य छैन। बर्दिबासमा भएको गोलीकाण्डको निष्पक्ष छानबिन गर्न आवश्यक छ। 

जनतामाथि ज्यादती गर्ने प्रहरीमाथि कारबाही हुन आवश्यक छ।  मृतक परिवारलाई राहत, घाइतेको उपचार र हत्या गरिएकी गुलाबको परिवारलाई न्यायको अनुभूति गराउन आवश्यक छ। 

प्रदेश सरकार हरायो

प्रदेशको एक उदीयमान शहर जलिरहेको छ। तर प्रदेश २ सरकार लगभग बेखवरको अवस्थामा देखिन्छ। मुख्यमन्त्री राउतलगायत आन्तरिक मामिला मन्त्रीको पनि कुनै प्रतिक्रिया आएको छैन।

शान्ति सुरक्षा, जनताको जीउधनको सुरक्षा र समाजमा अमनचयन कायम गर्ने जिम्मेवारी प्रदेश सरकारको पनि हो। बर्दिबास घटनामा प्रदेश सरकारको दृष्किोणसँगै उपस्थिति देखिनु पनि जरुरी छ।
 

  • प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार १८:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया