उग्र रुप, असामान्य जीवन : अल बिदा महान् म्याराडोना

मान्छेको जीवनको पहिलो सत्य जन्म र अन्तिम सत्य मृत्यु हो । उसको जिन्दगी उसकै मर्जीमा चल्छ । तर, आफ्नो मर्जीको जिन्दगी बाँच्दै गर्दा केही व्यक्ति विश्वकै लागि महान् बन्छन् । त्यस्तै एउटा महान् नाम हो ‘डिएगो म्याराडोना’ । 

जिन्दगीका परिभाषा सबैका आ–आफ्नै हुन्छन् । जसले जसरी बाँच्न सक्छ, त्यसैगरी आफ्नो जिन्दगीको परिभाषा गर्छ । अवश्य, म्याराडोनाको पनि जिन्दगीबारे आफ्नै खालको पृथक परिभाषा थियो होला ! किनकी उनी हरेक सेकेन्ड आफ्नै ‘मोड’को जिन्दगी बाँचे । त्यसैले त उनी चर्चित र महान् मात्र भएर चिनिएनन् । विश्व फुटबलको चम्किलो, असाधारण, प्रतिभाशाली म्याराडोना बदनाम, उग्र र कमजोरीले भरिएको बदमास भनेरसमेत चिनिए । 

विश्व फुटबलमा पेले पर्यायवाची बने । आज म्याराडोनाले संसारलाई छोडेर जाँदा उनको नाम फुटबलजस्तै विश्वभर उफ्रिरहेको छ । महान् मान्छेहरु मृत्युपछि पनि सपना देख्छन् ।  ६० वर्षीय म्याराडोनाको निधन हुँदा ८० वर्षीय पेलेले श्रद्धाञ्जली दिँदै हावामा फुटबल खेल्ने सपना बाँडेका छन् । 

फुटबलमा म्याराडोनाको कुशलता, तेज, आकर्षण, दूरदर्शिता, बलसँगको दुर्लभ संयोजनले विश्व मन्त्रमुग्ध भयो । तर, उनको अर्को पाटो लागुपदार्थ दुव्र्यसनले उनी बदनाम भए । 



उनको फुटबल कौशल जसरी विश्वका लागि प्रिय भयो त्यसैगरी उनको बदनामी विश्वले रोचकताका साथ नजिकबाट हेर्यो । उनले राम्रो र नराम्रो जिन्दगीका दुवै पाटा कसैलाई कहिल्यै लुकाएनन् । राम्रो जिन्दगीले उनलाई विश्वमा महान् बनायो भने नराम्रो जिन्दगीकै परिणाम ६० वर्षमै विश्वले उनलाई गुमायो । ​

म्याराडोना ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए । गरिब बस्तीबाट विश्वको महान् खेलाडी बन्दा म्याराडोनाको जिन्दगीमा कति परिवर्तन आए ? त्यो उनलाई भन्दा बढी अरुलाई थाहा हुन सक्दैन । किनकी उनले सधै आफ्नो जिन्दगी बाँचे । 



सुधार गृहमा विश्वलाई छोडेका म्याराडोनाले ४९१ खेलमा २५९ गोल गरे । म्याराडोना गरिब परिवारका विलक्षण प्रतिभा हुन् । उनले जुनियर टिमको नेतृत्व गर्दादेखि नै विलक्षण खेल प्रदर्शन गरे । उनले १६ वर्ष चार महिनाको हुँदा अन्तर्राष्ट्रिय खेलमा अवसर पाए ।

 

पाँच फुट उचाई : नाप्नै नसक्ने सम्मान ​

म्याराडोना छोटो कदका कठिला व्यक्ति हुन् । पाँच फुट पाँच इन्चका उनीसँग बल छल्ने कला, फूर्तिलोपन र बल खेलाउने कला अद्भुत थियो । उनको शरीरको उचाईको भन्दा विश्वमा उनको उच्च योगदानको मात्र चर्चा भएको छ । उनले आर्जेन्टिनाका लागि मात्र ९१ प्रदर्शनमा ३४ गोल गरे । 

मूल्यको महत्व 
म्याराडोनाको कीर्तिमान विश्व फुटबलमा स्वर्ण अक्षरले लेखिएको छ । उनले दुई पटक खेलाडी खरिदको विश्व कीर्तिमान तोके । बोका जुनिअर्स् छाडेर स्प्यानिस बार्सिलोनाका निम्ति सन् १९८२ मा ३० लाख पाउण्डमा बिक्री भएका उनी दुई वर्षपछि ५० लाख पाउण्डमा इटलीको नापोली क्लब पुगेका थिए । 

फुटबलका लागि उनी विश्वकै लागि हिरो थिए । इटलीको स्टुडियो सान पाओलोमा हेलिकोप्टरमा पुग्दा ८० हजार प्रशंसक भएको चर्चा हुन्छ ​।

कोकिनको लतमा !

महान् मान्छे त्यो हो जसले आफ्नो यथार्थ जीवन बाँच्छ । फुटबलसँगको लतसँगै म्याराडोनाको जीवनमा नशालु पदार्थको लत उस्तै थियो । उनी आपराधिक सङ्गठन क्यामोरवासँग जोडिए । उनी कोकिनको लतमा मात्र फसेनन् पारिवारिक झमेलामासमेत नराम्ररी फसे । गलत लतकै कारणले उनले १५ महिना लामो प्रतिबन्धसमेत सहनु परेको थियो । 

दुई वर्ष १० महिनाको निलम्बित जेल सजाय 
फुटबलले संसारमा महान् बनेका म्याराडोनाले ३७ औं जन्मदिनमा फुटबलबाट सन्यास लिए। उनले फुटबलबाट सन्यास लिएर स्वतन्त्रता रोज्न खोजे तर उनी निरन्तर समस्यामा फसिरहे । एयर राइफलबाट गोली चलाएको एउटा घटनामा उनी दुई वर्ष १० महिनाको निलम्बित जेल सजायमासमेत परे । 

उनको जिन्दगीलाई कोकिन र मादक पदार्थ सेवनले अस्तव्यस्त बनायो । पाँच फुटका म्याराडोनालाई आफ्नै खालको आहारबिहारले १२८ किलोग्रामसम्म पुर्यायो ।

मोटोपन घटाउन नसक्दा उनी हृदयघातको सिकारसमेत भए । उनको मोटोपनलाई घटाउन शल्यक्रियासम्म गर्नु परेको थियो । लागुपर्दाको दुर्व्यसनमा नराम्ररी फसेपछि उनी क्युबाको शरणमासमेत पुगे । उनले त्यत्तिबेला क्युबाका राष्ट्रपति फिडेल क्यास्त्रोसँग गरेको भेट चर्चित छ ।

तनावबीच पुनः फुटबलमा 

जिन्दगीका तनाव र झमेलालाई पन्छाउँदै सन् २००८ मा म्याराडोना आर्जेन्टिनाको राष्ट्रिय टोलीको व्यवस्थापक बन्न पुगे । 

उनको यो जिम्मेवारीको समाप्ति जर्मनीसँग अर्जेन्टिना क्वाटर फाइनलमा ४–० ले पराजित भएसँगै भयो । त्यसपछि उनी फुटबलसँग भन्दा आफ्नै जिन्दगीसँग बढी बाँचे । जति बाँचे आफ्नै मस्तीमा बाँचे । असामान्य जीवन बाँचे र असामान्य समर्थक पाएँ । तिनै समर्थक आज म्याराडोना बिदा हुँदा उनको सम्झना गरिराखेका छन्। ​

म्याराडोना  जीवनको पहिलो सत्यले तिम्रा आमाबुबा खुशी थिए होलान् । जीवनको अन्तिम सत्यले आज विश्व शोकमा छ । हार्दिक श्रद्धाञ्जली । 


  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १०:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया