धान बेच्न किसानलाई सकस : चार दिनदेखि खुला आकासमा वास

धनगढीको गेटामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान बिक्री गर्ने किसानको लाइन छ । धान बिक्री गर्न आएका कृषकलाई चार दिनसम्म खुला आकासमुनि बस्नुपर्ने वाध्यतासमेत छ । 

कञ्चनपुर बेलौरी–८ का किसान राजु चौधरी ४ दिनअघि धान बिक्री गर्न कम्पनीको गोदाममा पुगे । निजी व्यापारी र कम्पनीको मूल्यमा अन्तर भएपछि उनी पहिलोपटक त्यहाँ पुगेका हुन् । ‘मंसिर ८ गते गेटा पुगेको हुँ,’ गोदाम परिसरमै खाना पकाउँदै गरेका उनले भने, ‘चार दिन भइसक्यो यहाँ आएको पालो कहिले आउने हो कुनै टुङ्गो छैन ।’ 

यस्तै, बेलौरी–६का हरिद्वारी राना पनि आएको चार दिन भएको छ । उनको पनि पालो आएको छैन । ‘ट्याक्टरमा लोड गरेर धान ल्याएको छु,’ उनले भने, ‘अझै पालो आएको छैन ।’ उनी पनि गोदाम परिसरमै खाना पकाउने र ट्याक्टरमा सुत्ने गरेका छन् ।

गोदाम परिसरमा गोरु गाडादेखि ट्याक्टरमा धान लोड गरेर किसान लाइनमा छन् । गोरु गाडामा धान ल्याएकालाई अझै बढी समस्या हुने गरेको छ । नजिक घर हुनेहरू भने गाडा गोदाम परिसरमै छोडेर घर जाने गरेका छन् । ‘गोरु गाडामा धान ल्याएका छौं,’ धनगढी उपमहानगरपालिका–१२ का किसान बुद्धिराम चौधरीले भने, ‘आफूलाई भन्दा बढी समस्या गोरुलाई हुने गरेको छ, दिनभर लाइनमा बसेर साँझ घरमा गए पनि गोरुलाई के खुवाउने भन्ने समस्या हुन्छ ।’ उनी मंगलबारदेखि लाइनमा बसेका हुन् । 

सरकारले धानको मूल्य निर्धारण गरेको खवर सुनेर धान बिक्री गर्न आएका कञ्चनपुर कृष्णपुर नगरपालिका–६ पिपरियाका किसान छविलाल राना गोरु गाडा माथि लगाएको धानको चाङमै सुतेका छन् । ‘सरकारलाई धान बिक्री गर्दा खुला आकासमुनि बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बाहिरका व्यापारीलाई बिक्री गर्दा मूल्य पाइँदैन ।’ 



खाद्यले समयमै धान खरिद नगर्दा समस्या आएको कृषकको भनाइ छ । धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ ।  धेरैजस्तो किसानले खाद्यको भर नपरी अन्य व्यापारीलाई धान बिक्री गरेका छन् । ‘लागत अनुसारको  मूल्य पाउँदा खुशी भएका छौँ,’ धनगढी–९ का किसान जगदीश रानाले भने, लामो समय लाइनमा बसेर तोकिएको खरिद केन्द्रमा धान बेच्न कठिन भएको छ ।’ 



यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरै भएपछि खाद्यमा कृषकको भिड लागेको हो । सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने बढीमा २२ सय रूपैयाँसम्ममा खरिद गरेका छन् ।

खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालु वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ । कैलालीमा ६५ हजार र कञ्चनपुरमा ७ हजारको हाराहारीमा धान खरिद गर्ने कम्पनीले लक्ष्य छ ।

धान बिक्री गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । सरकारी र व्यापारीले दिएको मूल्यमा धेरै अन्तर भएकाले कैलालीको मात्र नभएर कञ्चनपुरबाट समेत किसानले धान ल्याएको उनले बताए । मंगलबारसम्म २२ हजार एक सय ४७ क्विन्टल धान खरिद गरिएको उनले जानकारी दिए । 

  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १४:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया