सेयर विश्लेषक अनलराज भट्टराईकाे विचार– यो लगानी गर्ने उचित समय हो

साधारणतया अहिले विश्वकै सेयर बजार हेर्नुभयो भने सबै ठूला मार्केट तल गएको देखिन्छ । विश्वव्यापी रूपमा बढेको कोरोना भाइरस संक्रमणका कारण विश्वकै स्टक बजार निकै तल पुगेको थियो । अहिले भने बिस्तारै बढ्दै गइरहेको छ । पछिल्लो केही समयदेखि ठूला स्टक मार्केटमा ‘स्ट्रङ भाइभ’ आइरहेको छ । कोरोनाको भ्याक्सिन आइरहेको सन्दर्भले पनि यसमा सहयोगी भूमिका खेलेको हो ।

महामारी बढेसँगै आममानिसले खर्च कटौती गरेका थिए । अधिकांश संस्थाले वर्क फ्रम होमको अवधारणा ल्याए, त्यो नयाँ किसिमको थियो, त्यसले अपरेसन कस्ट कम हुनुका साथै नयाँ किसिमको प्रविधिको वातावरण बनेको छ ।

भ्याक्सिन आउने लगभग निश्चित भइसकेकाले विश्वका सबै आर्थिक सूचक सकारात्मक दिशामा छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि पछिल्लो समय सकारात्मक बन्दै गएको छ । कोरोनापछि नेपालको स्टक मार्केट लगभग सय दिनभन्दा बढी समय बन्द नै भयो । त्यो बेला अड्किरहेको कारोबार अहिले खुल्दै गएकाले पनि परिसूचक तथा रकम बढ्दै गएको देखिएको हो । 

अहिले कारोबारको रकम बढ्दै गएको छ । यसका पछाडि पनि केही कारण छन् । महामारीले गर्दा लगानीका क्षेत्र खुम्चिए । बैंकमा तरलता बढ्यो र ब्याजदर निकै न्यून बिन्दुमा पुग्यो, जसको सकारात्मक प्रभाव बजारमा देखियो ।  

अर्को कुरा नेपाल राष्ट्र बैंकले स्टक मार्केटमैत्री नीति ल्यायो यसको प्रभाव पनि बजारमा देखियो । अहिले निक्षेप र बचतमा हुने ब्याजको अन्तर एक प्रतिशतमा झरिसकेको छ । फिक्स डिपोजिटमा दिँदै आएको ब्याज केहीबाहेक सबै बैंकले झारिसकेका छन् । 

कर्जाको माग नहुनुले पनि सेयर बजारमा लगानी बढेको हो । सरकारले ल्याएको सहुलियतकर्जाले पनि सेयर बजार बढ्न सहयोग गरेको छ । सरकारले ल्याएको सहुलियतकर्जा कार्यविधिले सम्पूर्ण लगानीको अवस्था सकारात्मक छ भन्ने सन्देश दिएकाले पनि बजार बढेको हो । विस्तारै कोरोनाको डर कम हुँदै गएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको हो ।



राष्ट्र बैंकको सार्वजनिक गरेको त्रैमासिक विवरणले पनि आम लगानीकर्तामा सकारात्मक प्रभाव पारेको छ । विवरणमा देखिएका आयात घट्नु तथा निर्यात बढ्नुले पनि अर्थतन्त्र सकारात्मक दिशातर्फ जाँदै छ भन्ने संकेत गरेको छ । देशमा वैदेशिक मुद्राको सञ्चिति पनि बढेको छ । नेपालको अर्थतन्त्र सबल छ । 

हामीसँग १५ महिनाका लागि पुग्ने रकम मौज्दात छ । ब्याजदर ५ वर्षकै न्यूनबिन्दुमा छ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक हेर्दा हाम्रो अर्थतन्त्र सकारात्मक दिशामा छ । बजारमा यसकै प्रभाव परेको हो ।



विश्वको परिदृश्यमा हेर्दा १९३३ को समय भने युद्धका कारण देखिएको आर्थिक मन्दी थियो । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको थियो । अहिलेको अवस्थालाई त्यो समयसँग दाज्न मिल्दैन । अहिलेको अवस्थामा भाइरससँग लड्न विश्व एक भएको छ । तर, त्यो बेला विश्वका अधिकांश देशबीच व्यापारमा पनि बन्देज थियो । भर्खरै विश्वयुद्ध सकिएको त्यो समयमा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको थियो अहिले भने सहयोगको भावना छ । यसले पनि विश्वमै बजार बढ्न सहयोग पुगेको हो ।

बैकको तीन महिने विवरणले पनि केही आशा जगाएको छ । बैंकको आम्दानी पनि खासै घट्ने देखिँदैन । देशमा व्यापारको सम्भावना देखिएको छ । नेपालमा विस्तारै लगानीको वातावरण बनेको संकेत पनि हो यो ।

सेयर बजारमा अर्थमन्त्रीका कारण पनि प्रभाव परेको हुन सक्छ । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाका पालामा सेयर बजारले गति लिन सकेन । किनकि, उनलाई लगानीकर्ताले सेयरबजार विरोधी अर्थमन्त्रीका रूपमा लिएका थिए । वर्तमान अर्थमन्त्री विष्णु पौडेलकै कार्यकालमा २०७३ साउनमा सेयर उच्च अंकमा पुगेकाले पनि लगानीकर्ताको मनोबल उच्च भएको छ । बजार अझै माथि जान यसले पनि भूमिका खेल्छ ।

अर्थमन्त्रालय तथा राष्ट्र बैंकको नीतिले पनि बजारलाई प्रभाव पार्न सक्छ । यसअघि बैंकको चुक्तापुँजी वृद्धि गर्नै पर्ने नियमले पनि बजारलाई प्रभावित पारेको थियो । पछिल्लो समय बजारमा लगानीकर्ता तथा सेयर संख्या दुवै बढेको छ ।

बजारमा विभिन्न नयाँ कम्पनीका प्राथमिक तथा बोनस सेयरका कारण एकै पटक सेयरको सप्लाई बढी भयो । लगानीकर्ताको संख्या बढ्यो । पछिल्लो समय के होला भन्ने अन्योलबीच सुरु भएको अनलाइन ट्रेन्डिङले पनि बजारमा नयाँ लगानीकर्ताको मनोबल बढाएको छ । लगानीको वातावरणसमेत बनेको छ ।

प्रविधिक विश्लेषण हेर्दा विश्व बजारमै अहिले सेयर किन्ने बेला हो भन्न सकिन्छ । हाम्रो बजारमा पनि बैकिङ क्षेत्रको इन्डेक्स बढेको छैन । पछिल्लो वित्तीय विवरण हेर्दा अब बैंकिङ क्षेत्र पनि बढ्छ भन्न सक्ने अवस्था सृजना भएको छ । बैंकिङ क्षेत्रले सेयर बजारलाई लिड गर्ने अवस्था अझै देखिन्छ । यसरी हेर्दा अहिले सेयर बजारमा लगानी गर्ने उचित समय हो । तर, नयाँ लगानीकर्ताले भने विशेष गरी केही समयदेखिको वित्तीय विवरण हेरेर लगानी गर्दा उचित हुन्छ ।

सेयर विश्लेषक अनलराज भट्टराईसँग फरकधारले गरेको कुराकानीमा आधारित

  • प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार १९:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया