बालिका हत्या प्रकरण : बर्दिवासको अवस्था सामान्य बन्दै, गौशाला ठप्प

सोमबार मध्यरातमा ६ वर्षीया बालिकाको हत्यापछि बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेपछि तीन दिनदेखि तनावग्रस्त बनेको महोत्तरीको बर्दिवासको अवस्थामा सामान्य बन्दै गएको छ।

शुक्रबार बिहानैदेखि बर्दिबास बजार खुलेको छ। राजमार्ग समेत संचालनमा आएको छ। तर पुनः आन्दोलन हुने सम्भावना रहेकाले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्। प्रदर्शन रोकिएपछि बजारमा मानिसको चहलपहल बढ्न थालेको छ।

यता, घटनाको विरोधमा महोत्तरीकै गौशला बजार भने बन्द गरिएको छ। गौशाला उद्योग वाणिज्य संघको आह्वानमा हाटबजार, यातायात, कलकारखाना र शैक्षिक संस्था एक दिनका लागि बन्द गरिएको छ। घटनामा संलग्नलाई कडा कारवाहीको माग राख्दै गौशाला बन्द गरेको संघले विज्ञप्ति निकालेर जनाएको छ।

संघको आयोजनामा गौशलामा दिउँसो ५ बजे श्रद्धाञ्जली सभा राखिएको छ। विभिन्न संघ संस्था र अधिकारकर्मीले जनकपुरधामसहित देशका विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा गरिरहेको छ।

बर्दिवास नगरपालिका १४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलावसा खातुनको हत्या भएको खबर पाएपछि स्थानीय आन्दोलित भएका हुन्। राजमार्गमा उग्र प्रदर्शन हुन थालेपछि स्थिति नियन्त्रणमा लिन मंगलबार प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए। 

चार गोली लागेर गम्भीर घाइते भएका सञ्जय न्यौपानेलाई तत्कालै उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। उपचारको क्रममा बुधबार राति निधन भएको छ। बिहीबार साँझ पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।



बालिकाको शव अस्पतालमै



हत्या गरिएकी बालिका खातुनको शव चार दिनदेखि जनकपुरस्थित प्रादेशिक अस्पतालमै अलपत्र छ। बुधबार नै उनको पोष्टमार्टम भइसक्यो। तर पीडित परिवारले शव बुझेका छैनन्।

‘शवको पोष्टर्माटम भइसकेको छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव भन्छन्, ‘किन शव नलगेको भन्ने कुरा मलाई थाहा छैन।’ 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रले शव पीडित परिवारले नबुझेको जानकारी दिए। उनले भने, ‘सुरुमा पोष्टमार्टममा पनि विवाद भएको थियो। तर पछि के भयो मलाई थाहा भएन। यसबारे म बुझेर मात्र भन्न सक्छु।’​

सम्झौतमा असन्तुष्टि

आन्दोलनलाई मत्थर पार्न महोत्तरी प्रशासनको अगुवाइमा सर्वदलीय बैठक बस्यो। बैठकबाट चार बुँदे सम्झौता भए पनि पीडित पक्षले भने सम्झौताप्रति सन्तुष्टि जनाएका छैनन्। 

बालिका खातुनका हत्यारालाई कडा कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई सहिद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने, दुवै पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउने र घाइतेको उपचार सरकारले गर्ने सम्झौता भएको छ। पीडित पक्षलाई नराखी प्रशासनले गरेको निर्णयलाई सम्झौता भइसकेको भनेर गलत हल्ला फैलाएको स्थानीय बताउँछन्।

‘प्रशासनले पीडित पक्षलाई राखेर सम्झौता गर्नुपर्थ्यो। तर नेतासँग सम्झौता गरेको रहेछ’, स्थानीय प्रमेश्वर महतो भन्छन्, ‘त्यसैले यहाँका युवाहरु त्यो सम्झौतालाई मान्न तयार छैनन्। प्रशासनले पुनः सम्झौता नगरेसम्म  आन्दोलन जारी रहन्छ।’

हत्यारालाई फाँसी दिन माग

घटनाको तीन दिनपछि बिहीबार बिहान महिला अधिकारकर्मी सावित्री सुवेदी बर्दिवास आइपुगिन्। उनले महिला र युवाको साथ पाएर बर्दिवासमा दिनभर प्रदर्शन गरिन्।

‘खातुनको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ। निर्मला प्रकरणमा सरकार गद्दार भयो। अब हामी हट्नेवाला छैन’, उनले भनिन्, ‘अपराधीलाई फाँसी नदिएसम्म चुप लागेर बस्दैनौं।’ उनी प्रहरीले गरेको दमनको समेत विरोध गरेकी छन्।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार ११:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया