काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा संक्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्यमबाट नै पठनपाठन हुने जनाएको हो ।
गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ । विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । ‘अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षा सकिए पनि उपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्छ’, प्रमुख ढकालले भने ।
विश्वभरि फैलिएको कोरोनाका कारण गत चैतदेखि देशभरका विद्यालय बन्द छन् । अहिले उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भए पनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुन सकेको छैन ।
काठमाडौँ उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ । उपत्यकामा संक्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने कामपाले जनाएको छ । हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।