कोरोना भाइरस संक्रमणको महामारीका बीच वीरेन्द्रनगरका विद्यालयले पठन–पाठन सुरु गरेका छन् । वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी विद्यालयले विद्यार्थीलाई भौतिक रूपमा नै कक्षाकोठामा पढाउन सुरु गरेका हुन् । कोरोनाका कारण गएको चैतबाट बन्द रहेका विद्यालयले यसअघि विभिन्न वैकल्पिक माध्यमबाट पठन–पाठन सुरु गरेका थिए । संक्रमणको जोखिम कम भएको भन्दै अहिले विद्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गरेका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्डसहित विद्यालय सञ्चालन गरिएको श्रीकृष्ण संस्कृत तथा साधारण मावि इक्रामका प्रअ यामलाल घिमिरेले जानकारी दिए । ‘सरकारले तोकेको सुरक्षाका मापदण्ड पालना गरेर हामीले विद्यालय सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘आइतबारदेखि कक्षा १ देखि १० सम्मको पढाइ सुरु भएको छ । थोरै विद्यार्थी भएको कक्षामा एकै पटक र धेरै विद्यार्थी भएको कक्षामा २५ जनाको ग्रुपमा अध्ययन गराइरहेका छौँ ।’
‘विद्यार्थीलाई पटक–पटक साबुन पानीले हात धुने व्यवस्था गरेका छौँ,’ उनले थपे, ‘अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गरी एक बेन्चमा एकदेखि दुई जना मात्रै विद्यार्थी बसाउने गरेका छौँ ।’
इक्रामसँगै वीरेन्द्रनगरमा अन्य सरकारी विद्यालय भैरव मावि भैरवस्थान, अमरज्योती नमुना मावि नेवारे, शिव मावि लाटिकोइली, नेपाल राष्ट्रिय मावि लगायतका सबै जसो विद्यालयले पठन–पाठन सुरु गरेका छन् । यस्तै जन नमुना माविले सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ ।
सरकारी विद्यालय मात्रै नभएर सबैजसो निजी विद्यालयले पनि विद्यार्थी बोलाएर पठन–पाठन सुरु गरेका छन् । कर्णाली प्रदेशमा रहेका सबै जसो निजी विद्यालयले पठन–पाठन सुरु गरेको नेस्नल प्याप्सन कर्णाली प्रदेशका सह–सचिव महेन्द्र पुनले जानकारी दिए ।
‘धेरै जसो विद्यालयले दुईदेखि १० सम्मका कक्षा सामाजिक दूरी कायम गरेर सञ्चालन गरेका छन्,’ उनले भने, ‘हामीले सम्बन्धित नगर शिक्षाको सहकार्यमा विद्यालय सञ्चालन गरेका छौँ ।’
हाल सबै जसो विद्यालयमा ७० देखि ८० प्रतिशत विद्यार्थी उपस्थित हुने गरेको उनको भनाइ छ । बाँकी ३० प्रतिशत विद्यार्थीमध्य केही विभिन्न ठाउँबाट आउने क्रममा रहेको केही गाउँघर तथा सरकारी विद्यालयमा भर्ना भएको उनको भनाइ छ । कोरोनाको जोखिम कम भएर सामान्य अवस्था सिर्जना भएमा पूर्णरूपमा विद्यार्थी उपस्थित हुने उनको भनाइ छ ।
यता वीरेन्द्रनगर नगरपालिकाले विद्यालय सञ्चालनका लागि कुनै पनि किसिमको आधिकारिक निर्णय नगरे पनि सुरक्षाका मापदण्डहरू पालना गरेर विद्यालय सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले विद्यालय सञ्चालन गर्नुपर्ने कुरामा नगरपालिका सकारात्मक रहेको बताए ।
‘विद्यालय सञ्चालन गर्ने विषयमा कुनै लिखित निर्णय भएको छैन । तर, सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न नगरले भनेको छ,’ उनले भने, ‘राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेका बेलामा अन्य स–साना विद्यालय सञ्चालनका लागि कुनै समस्या छैन ।’ साथै संक्रमणको दर बढ्दै गएमा पुन विद्यालय बन्द समेत हुन सक्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।