कानुन निर्माणमा सांसदहरु विज्ञ नहुँदा अरुको भर पर्नु पर्‍यो : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन्  ।

जनमुखी विधेयक निर्माण गर्न राजनीतिक दल तथा सांसदहरु जानकार नहुँदा विज्ञको भर पर्नुपरेको बताए । काठमाडौंमा शुक्रबार संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रियामा सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र लोकतन्त्रको राम्रो अभ्यास नभएको गुनासो गरे । 

पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षण दिनुपर्नेमा सभामुखको जोड थियो । 

उनले भने, ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननीय सांसदहरुमा विज्ञता नभएकैले अरुको भर पर्नुपर्यो । हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले मात्रै जनमुखी विधेयक बनाउन सक्छन् । पार्टीहरू भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन ।’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए । पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको बताए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानुनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताए । सबै कुराको वातावरण बने पनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको उनको भनाइ छ । त्यसैले अबको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानुनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरूलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।



उनले भने, ‘संघबाट हुनुपर्ने कतिपय ऐन कानुनहरु नबन्दा प्रदेशलाई अप्ठेरो छ । संघ र प्रदेशबाट हुनेपर्ने काम नभइदिँदा स्थानीय तहलाई अप्ठेरो छ । वातावरण बनिरहेको छ तर ऐनकै कारणले समस्या झेल्नुपर्ने भएको छ । अब यो हिउँदे अधिवेशनमा कम्तीमा पनि ऐन त बन्नै पर्यो । परिमार्जन हुने संशोधन हुँदै जाने प्रक्रिया हुन्छन् भइरहन्छन् । संघले ऐनहरू नबनाइदिएर हामीले काम गर्न पाएनौं भनेर प्रदेश र स्थानीय तहले गुनासो नहुने गरी अब बाँकी नीति बनाएका छौं तिनलाई कार्यान्वयनमा लाने हो । म कानुन मन्त्रीलाई विशेष गरी भन्न चाहन्छु त्यस्ता ऐन जति सबै यो हिउँदे अधिवेशनमा पास गरेर अब प्रदेश र स्थानीय तहका लागि संघले बनाउने कुनै पनि ऐनहरू बाँकी छैन भनेर भन्न सक्ने हामी बन्नुपर्छ ।’ 

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताइन् । उनले कति गते बोलाउने भन्ने टुंगो नलागे पनि नियमित अधिवेशन सुरु हुने बताइन् । अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको उनले बताइन् ।



उनले भनिन्, ‘हाम्रो नियमित अधिवेशन अन्त्य भएको धेरै समय बितिसक्यो । नियमित अधिवेशन प्रवेश गर्ने बेला भइसकेको छ । तसर्थ मैले अनौपचारिक रुपमा सभामुखलाई भनेकी छु । र, कर्मचारी साथीहरुलाई पनि भनेकी छु । अवश्यक पूर्व तयारी गर्नुहोला ।’

 

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १५:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया