लयमा फर्किँदै ठमेल
फाइल फोटो

काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै छ । कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

बन्दाबन्दीअघि ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे । अझ शुक्रबार र शनिबार थप चहलपहल हुँदै आएको थियो । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन् । ठमेल क्षेत्रमा छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

कोभिड–१९ का कारण विदेशी पर्यटक नेपाल घुम्नका लागि नआए पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर ठमेलमा पर्यटकीय गतिविधि सुरु गरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताए । 

यहाँको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ । ठमेल विकास परिषद्ले यस क्षेत्रका व्यवसायीलाई यहाँबाट विस्थापित हुन नदिन ठमेलका घर धनीसँग छलफल गरेर घरभाडामा ५० प्रतिशत सहुलियतको व्यवस्था मिलाएको छ । ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । दशैँ र तिहारको समयमा भने ठमेलभित्र थोरै मात्रामा भए पनि पर्यटकीय गतिविधि बढेको उनको भनाइ छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १६:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया