कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का
नव नियुक्त योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का । तस्बिर : फरकधार ।

कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । खड्का दैलेखको नारायण नगरपालिका ८ निवासी हुन् ।

यसअघिका उपाध्यक्ष डा. पुण्य रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएर गएपछि प्रदेश सरकारले खड्कालाई नियुक्त गरेको हो । बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विज्ञका रूपमा सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइली निवासी झकबहादुर मल्ललाई नियुक्त गरेको छ ।

यस्तै बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संंख्या र सिमाना हेरफेर गरी स्वीकृतिका लागि नेपाल सरकारलाई पठाउने निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश सुरक्षा मापदण्ड, २०७७ र कर्णाली प्रदेशको सुरक्षा रणनीति, २०७७ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

आर्थिक वर्ष ०७६/७७ मा कर्णाली प्रदेश सरकारको समपूरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

शान्ति अध्ययन तथा घाइते अपाङ्ग पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने, कर्णाली प्रदेशको पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १७:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया