प्रचण्डलाई जवाफ दिन ओलीको ४० पृष्ठ लामो प्रतिवेदन, के छ प्रतिवेदनमा ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दै छ । १० दिनपछि बस्न लागेको यो बैठक नेकपाको भविष्यका लागि निकै महत्वपूर्ण मानिएको छ । 

नेकपाको यो बैठक महत्वपूर्ण मानिनुको कारण हो, यो बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनको जवाफ दिनु । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यो बैठकमा जवाफ दिनका लागि ४० पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन् । 

‘अध्यक्ष ओलीको यो प्रतिवेदन निकै महत्वपूर्ण छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यही प्रतिवेदनले अहिले नेकपाको भविष्यलाई पनि निर्धारण गर्नेछ ।’ उनले भोलिको सचिवालय बैठक बस्ने निश्चित भएको भन्दै अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा जे लेखेका छन्, त्यसले नेकपा के हुने भन्ने तय गर्ने बताएका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा पार्टी तथा सरकार सन्चालनमा आफूलाई सबै ‘सहयोद्धा’ले असहयोग गरेको आरोप लगाएका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले यो प्रतिवेदनमा प्रचण्डलाई प्रश्न गरेका छन्– के यो साँचो अर्थमा बहस हो कि वारपारको लडाइँ हो ? अनि सँगै अर्को प्रश्न पनि ओलीले राखेका छन्– यो एकताको बाटो हो कि विग्रहको ?

ओलीले यसअघि सहमतिहरु भएअनुसार प्रचण्डले आफूलाई थाहै नदिइ प्रतिवेदन पेश गरेको विषयमा रोष प्रकट गरेका छन् । ‘यो कुनै राजनीतिक प्रतिवेदन होइन,’ ओलीको प्रस्तावमा लेखिएको वाक्यलाई उनीनिकट एक नेताले उद्धृत गरे, ‘यो अभियोग पत्र हो, यसले पार्टी विभाजनको बाटो तय गरेको छ ।’



यसअघि बाहिर आएजस्तै प्रतिवेदनमा प्रचण्ड तत्कालीन सशस्त्र युद्धमा हुँदा भनिएका विषयलाई चाहिँ नसमेटिएको स्रोतको दाबी छ । ‘अहिलेको विवाद पार्टी एकीकरण भइसके पछि भएको विवाद हो,’ ती नेताले भने, ‘त्यसैले पार्टी एकताअघिका विषयलाई ओलीले आफ्नो प्रतिवेदनमा समेटेका छैनन् ।’



  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २०:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया