रुकुम घटना: पाँच जनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

१० जेठमा रुकुम पश्चिम र जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे उच्च अदालत सुर्खेतले फैसला गरेको छ । 

निर्णयअनुसार घटनाका अभियुक्त मध्येका ५ जनासँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्त मध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एक–एक लाख धरौटी माग गरेको हो ।

यसअघि सोती घटनाका विषयमा तत्कालिन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्त मध्येका छ जनालाई थुनामै राखेर कारवाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो ।

असोज २५ गतेको संयुक्त इजलासमा तत्कालिन मुख्यन्यायाधीश चुडालले सर्वजीत भनिने सविन पुनसहित भिमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेश गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेश गरेका थिए।

मुख्यन्यायाधीश सुवेदीको एकल इजलासले घटना विवरण कागजमा प्रतिवादी सविन पुनले भेरी नदी पार गरेर भागी रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफु नदीमा गएको र भंगालो पार गरी भागिरहेका मानिसहरुलाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ।  



मुख्यन्यायाधीश सुवेदीको एकल इजलासबाट अन्य पाँच जनाले घटना हुँदाका बखत आफुहरु ढुंगा खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयम् उपस्थित भै बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको आधारमा पछि ठहरे बमोजिम हुने गरी हाललाई जनही एक–एक लाख धरौटीमा छोड्न आदेश भएको छ ।



  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २१:२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया