भारतीय विदेश सचिवले नेपालमा गरेको माइक्रो म्यानेजमेन्ट र नेपाली भूमिबाट चीनलाई दिएको सन्देश

आफ्नो दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगंला नेपालबाट शुक्रबार साँझ भारत फर्किएका छन् । तर, उनले यी दुई दिनमा नेपालमा छोडेका तरंगहरुले लामो समय नेपाली राजनीतिलाई तरंगित बनाउने निश्चित छ ।

भारतीय विदेश सचिव श्रृगंला यस्तो समयमा नेपाल आएका छन् जतिबेला नेपालको सत्तारुढ दल नेकपा आन्तरिक किचलोमा गाँजिएको छ । पछिल्लो समय भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको भेट भएपछि तातिएको नेकपा विवादमा भारतीय विदेश सचिवको भ्रमणले पनि केही हदसम्म प्रभावित पार्ने नेकपा नेताहरुको अनुमान छ । 

भारतीय विदेश सचिव श्रृगंलाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग औपचारिक रुपमा भेटवार्ता गरेका थिए । शुक्रबार उनले समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोसँग भेटघाट गरे ।

यी सबै भेटघाटमा श्रृगंलाले उठाएको मुख्य विषय थियो– नेपालको कूटनीतिका विषयमा । 

पछिल्लो समय नेकपामा देखिएको विवाद समाधानका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालमा सक्रिय हुन थालेपछि भारतले अहिले नेपाली कूटनीतिबारे निकै चासो दिएर हेरिरहेको छ । यसअघि प्रधानमन्त्री ओलीले संसदमा चिनियाँ भन्दा भारतीय कोरोनाभाइरस बढी बलियो, लिपुलेक र कालापानी सीमा विवादमा भारतको नजरको विषयमा दिएका अभिव्यक्ति देखि नै भारत नेपाली कूटनीतिप्रति बढी सशंकित भएको थियो । यसअघि र अहिलेको नेकपा विवादमा पनि चिनियाँ सक्रियता बढ्दै गएपछि भारतले अब विस्तारै लगातार आफ्ना उच्चपदस्थ अधिकारी नेपाल पठाउन थालेको छ । 

त्यही क्रममा भारतबाट छोटो समयमा तीन उच्चपदस्थ अधिकारी नेपाल आएका छन् । ती हुन्, भारतीय रअ प्रमुख सामन्तकुमार गोयल, स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाने र विदेश सचिव श्रृगंला । 



लगातार भारतीय अधिकारीहरुले नेपाल भ्रमण गर्नु र उनीहरुले नेपाली नेताहरुबाट प्राथमिकता पाउनुलाई अहिले बढेको चिनियाँ चासोको काउन्टरका रुपमा लिन्छन्, एक परराष्ट्र मन्त्रालयका अधिकारी ।

‘नेपालको कूटनीति फेरिन लागेको हो कि भन्ने कुरामा भारत सशंकित हुनु स्वभाविक हो,’ उनले भने, ‘पछिल्लो समय नेकपामा देखिएको विवाद समाधानको कडी चिनियाँ राजदूत बन्न थालेपछि भारतले यस विषयमा थप चासो दिएको हो ।’



एकातिर भारतीय विदेश सचिव श्रृगंलाको यो भ्रमणले नेपाल र भारतबीच लामो समय देखि भइरहेको संवाद शून्यताको अवस्था अन्त्य भएको भनिएको छ भने अर्कोतिर श्रृगंलाको भ्रमणले चीनलाई पनि सन्देश दिएको छ ।

‘त्यो सन्देश भनेको नेपालको कूटनीति फेरिएको छैन र भारतसँगको दूरी बढेको छैन भन्ने हो,’ ती अधिकारीले बताए ।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार २१:५९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया