संवेदनशील विषयमा खेलबाड नगर्न आग्रह गर्दै ओलीले प्रचण्डलाई भने– पाँच हजार मान्छेको हत्याको जिम्मा लिनुको अर्थ के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई शान्ति प्रक्रियाका कामहरु अल्झिनुमा समेत दोषी देखाउनु प्रचण्डको दुस्साहस भएको बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनको जवाफ दिँदै नेकपा अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।  

‘म ‘धर्म’ र ‘पाप’मा विश्वास गर्दिनँ । तर, यस्ता आरोप सुन्दा–सुन्दा कहिलेकाहीँ दिक्क लागेर सोच्ने गर्छु, साथीहरुले यति घटिया ‘पाप’ पनि कसरी चिताउन सक्दा हुन् ? ओलीले भनेका छन्, ‘यस्तो सुनेर द्वन्द्वमा ज्यान गुमाएका, बेपत्ता र घाइते पारिएकाहरुको ‘आत्मा’ ले के भन्दो हो ?’ 

यो विषय यतिका वर्षसम्म अल्झिनुमा स्वयं प्रचण्ड दोषी रहेको भन्दै उनले कि त यस विषयमा आफूलाई विश्वास गर्न, होइन भने मुख्य सरोकार राख्ने दुई पक्ष (तत्कालीन माओवादी र काङ्ग्रेस) मिलेर जे विकल्प दिन्छन्, त्यही अगाडि बढाउन आफूले आग्रह गरेको स्मरण गराउँदै ओलीले प्रश्न गरेका छन्, ‘तपाइँले नै होइन, आयोगमा नाम सिफारिसको प्रबन्ध गरेको ?’ 
 
प्रचण्डका सुझाबलाई अक्षरशः कार्यान्वयन गरेको र सरकार प्रमुखको हैसियतमा पीडितहरुको सरोकार सुन्नका लागि राष्ट्रव्यापी छलफल र परामर्शको व्यवस्था गरेको उनको दाबी छ । यस्तो संवेदनशील विषयमा सत्तापक्ष र विपक्षलाई एकै थलोमा उभ्याएर हरेक विषय सहमतिका आधारमा अगाडि बढाउने काम गरेको उल्लेख गर्दै उनले यसलाई अनावश्यक रुपमा विवादित विषय नबनाउन आह्वान गरेका छन् । 

यससँग सम्बन्धित संशोधन विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै ओलीले अन्तर्राष्ट्रिय मञ्चहरुमा यसको समाधान नेपाल स्वयंले गर्ने र यसो गर्ने सामर्थ्य नेपालसँग रहेको भनेर आफूले बेलाबेलामा यस विषयलाई लिएर हुने अनुचित बाह्य टिप्पणीको विधिवत् प्रतिवाद गरेको पनि स्मरण गराएका छन् । 

‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? भन्दै ओलीले यो ज्यादै संवेदनशील विषय भएकोले यस्ता अभिव्यक्तिले समस्यामा झन् गाँठो पर्न सक्छ भन्ने ख्याल गर्न प्रचण्डलाई आग्रह गरेका छन् । 

नेपालको प्रतिबद्धता र विश्वसनीयता जोडिएको, पीडितहरुको संवेदना जोडिएको र विश्व समुदायको पनि चासो र सरोकार रहेको संवेदनशील विषयमा खेलबाड गर्ने गल्ती नगर्न उनले प्रचण्डलाई सुझाब दिएका छन् । 






  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २०:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया