शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रतिवेदनलाई ‘हलुका’, ‘व्यक्तिगत लाच्छनामा केन्द्रित’ भएको भन्दै ओलीइतर पक्ष थप रुष्ट भएको छ ।
२८ कार्तिकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रतिवेदनको जवाफ दिँदै ओलीले आफ्नो प्रतिवेदन सचिवालय बैठकमा राखेका थिए ।
प्रचण्डको १९ पृष्ठ लामो प्रतिवेदनको जवाफ ३८ पृष्ठमा दिएका ओलीले प्रतिवेदनमा प्रचण्डमाथि निकै धेरै आरोप लगाएका छन् । उनले प्रचण्डमाथि विभिन्न गम्भीर प्रश्नहरु पनि उठाएका छन् ।
ओली र प्रचण्ड दुवैका प्रतिवेदन आउँदा नेकपामा अहिलेको समस्याको गहिराइ प्रष्ट हुने नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । उनले भने, ‘दुवै अध्यक्षबाट प्रस्तुत प्रतिवेदन र आदानप्रदान गरिएका पत्रहरु पढेपछि नेकपाको आन्तरिक द्वन्द्वको गहिराई महसुस गर्न सकिएको छ ।’
उनले यसले पार्टीमा गम्भीर समस्या भएको प्रष्ट पारेको तर यसलाई समाधान गरेर अगाडि बढ्नु नै अबको विकल्प भएको पनि बताएका छन् ।
तर, नेकपाकै अर्का एक केन्द्रीय सदस्यले चाहिँ ओलीले आज प्रस्तुत गरेको प्रतिवेदन पार्टीको नेता र प्रधानमन्त्रीका नाताले निकै हलुका भएको टिप्पणी गरेका छन् । फरकधारसँग कुरा गर्दै उनले भने, ‘ओलीको जुन प्रतिवेदन आएको छ, त्यसमा उहाँले प्रचण्डमाथि आरोप लगाउने काम मात्र गर्नु भएको छ । यसले पार्टीलाई थप हानी पुर्याएको मात्र होइन, समस्यामा धकेलेको पनि छ ।’
नेकपामा प्रचण्डनिकट उनले ओलीको प्रतिवेदनका कारण ओलीइतर पक्ष थप रुष्ट भएको पनि बताएका छन् । ‘विधि र विधानमाथि चर्चा गर्नु पर्ने समयमा, वैचारिक विषयमा चर्चा गर्नु पर्ने समयमा,’ उनले भने, ‘ओली व्यक्तिगत आक्षेपमा उत्रिनु भएको छ, यसले पार्टीलाई थप समस्या पारेको छ ।’
ओलीको यो प्रतिवेदनका कारण पार्टीमा उनीविरुद्धको मोर्चा थप रुष्ट भएको पनि उनले दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।