ओलीको प्रतिवेदनपछि प्रचण्डको प्रतिक्रिया– पार्टी अगाडि बढ्ने छाँटकाँट देखिएन

शनिबार बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदन पेश गरे ।

२८ कार्तिकको सचिवालय बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रतिवेदनको जवाफ दिनका लागि ओलीले १० दिनको समय मागेका थिए । १० दिनपछि उनले आफ्नो प्रतिवेदन सचिवालय सदस्यहरुसमक्ष राखेका छन् । 

पछिल्लो समय नेकपामा देखिएको यी दुई अध्यक्षबीचको विवादले नेकपा अब फुटको संघारमा पुगेको आभास गर्न थालिएको छ । त्यसो त प्रतिवेदनमा नै ओलीले प्रचण्डलाई पार्टी फुटको अनौपचारिक घोषणा उनले गरेको आरोप लगाएका छन् । प्रचण्डले राखेको प्रतिवेदनमा जसरी ओलीमाथि आरोप लगाइएको थियो, ओलीले ती आरोपको खण्डन मात्र गरेका छैनन्, प्रचण्डमाथि प्रश्नैप्रश्न तेर्साएका छन् ।

शनिबार सचिवालय बैठकमा पनि ओलीले प्रतिवेदन र आफ्ना कुरा राखेपछि प्रचण्डले बैठकमै त्यसको विरोध गरेका थिए । स्रोतका अनुसार प्रचण्डले ओलीलाई दम्भले भरिएको नेताको संज्ञा दिएका छन् ।

आफूले राखेको प्रतिवेदन आफ्नो मात्र नभएर सचिवालयमा बहुमत सदस्यको भएको विषयलाई ओलीले नजरअन्दाज गरेको उनले आरोप लगाएका छन् । ‘ओलीमा आफ्नो कमजोरी र त्यो प्रतिवेदन बहुमत सदस्यले राखेको हो भन्ने रियालाइजेसन नै देखिएन,’ प्रचण्डको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीको प्रतिवेदन र ओलीको आजको प्रस्तुतिमा अहम्, दम्भ र घमन्ड देखियो ।’

ओलीले राखेको प्रतिवेदनको पहिलो प्याराग्राफमा नै प्रचण्डले असहमति जनाएको स्रोतको दाबी छ ।



ओलीले राखेको प्रतिवेदनमा प्रचण्डको प्रतिवेदनलाई प्रतिवेदन भनिएको छैन । त्यो प्रतिवेदनलाई ओलीले अभियोग पत्रको संज्ञा दिएका छन् ।

‘अब हुने सचिवालय बैठकमा पनि यस विषयमा कुराहरु पक्कै उठ्ने छन्,’ प्रचण्डको भनाइलाई स्रोतले फरकधारसँग उद्धृत गर्यो, ‘आज सचिवालय बैठकमा पनि खण्डन गरिएको छ, भोलि पनि यो विषयमा गम्भीर रुपमा छलफल हुनेछ ।’ नेकपाले अब ३ दिनपछि १६ गते सचिवालय बैठक बोलाएको छ ।



अर्कोतिर, प्रचण्डले ओलीको प्रतिवेदन आएपछि पार्टी अगाडि बढ्ने छाँटकाँट नदेखेको पनि बताएका छन् । ‘अहम् र दम्भको कुरा मात्र बढी छ,’ स्रोतका अनुसार प्रचण्डको बुझाइ छ, ‘यो नसच्चिएसम्म पार्टी अगाडि बढ्ने छाँटकाँट देखिँदैन ।’

ओलीको प्रतिवेदन आएसँगै प्रचण्डले सचिवालयमा नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकपछि ओलीले पशुपति प्लाजामा गरेको भेटघाटलाई पनि स्मरण गरेका छन् । ‘त्यति बेला नै उहाँले पार्टीमा प्रचण्डलाई खुइल्याउने भन्ने निर्देशन आफ्ना कार्यकर्तालाई दिनु भएको थियो,’ प्रचण्डनिकट एक नेताले भने, ‘यो विषयमा पनि प्रचण्डले अब आफ्नो मत राख्नुहुनेछ ।’

पछिल्लो समय पार्टीमा देखिएको विवादबारे अबको सचिवालय बैठकमा प्रचण्डले थप कडा रुपमा प्रस्तुत हुने तयारी सुरु गरेको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार २३:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया