निर्माण सम्पन्न भएको २ वर्षपछि सञ्चालनमा आउँदै सिटी बसपार्क

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको वीरेन्द्रनगरको सिटी बसपार्क अब सञ्चालनमा आउने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले सिटी बसपार्कसम्बन्धी निर्माण गरेको कार्यविधि अनुसार मंसिर १५ गतेबाट बसपार्क सञ्चालनमा ल्याउने भएको हो ।

बसपार्क सञ्चालनको जिम्मा निजी कम्पनीलाई दिई अन्तिम तयारी थालिएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । साथै उनले बसपार्कमा यात्रुहरूलाई आवज–जावत गर्ने वातावरण सहज गराउनका लागि पार्कभित्र सिसिक्यामरा जडान, सुरक्षा पोस्ट, ट्राफिक सिग्नल, साइन, यात्रु चढ्ने वा झर्ने ठाउँ निश्चित, यातायात कार्यालयका कर्मचारीले परिचय–पत्र तथा जर्सीको अनिवार्य प्रयोग गर्ने जस्ता नियम लागू हुने बताए ।

बसपार्क सञ्चालनका लागि यातायात व्यवसायी संगठनका प्रमुखहरूसँग छलफल गरिसकेका समेत प्रमुख सुवेदीले जानकारी दिए । बसपार्क सञ्चालनको जिम्मा पिआर कन्स्ट्रक्सन भक्तपुरलाई दिइएको छ ।

यसअघि २०७४ माघ १४ गते चाङ्गमिला नरसिङ्ग जेभीसँग सिटी बसपार्क निर्माणका लागि सम्झौता भएको थियो । म्याद थप गरी २०७५ असोज ३१ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीले त्यस अगावै निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको थियो ।

नगरलाई हस्तान्तरण गरेको केही समयपछि नगरले बसपार्क सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गर्दै २०७६ मंसिरमा ठेक्का आह्वान गरेको थियो । तर, बसपार्क भएकै ठाउँमा व्यवसाय गरी बसेकाहरूले व्यवसायमा असर परेको भन्दै नगर प्रमुखसहितका पदाधिकारीविरुद्ध अदालतमा रिट दर्ता गरेपछि ठेक्का प्रक्रिया स्थगित भएको थियो ।

सोही रिटका आधारमा अदालतले ठेक्का रद्द गर्न आदेश दिएको थियो । तर, पछि उच्च अदालत सुर्खेतले व्यवसायीको निवेदनका आधारमा निवेदक व्यवसायीलाई प्राथमिकतामा राख्न आदेश दिएपछि बसपार्क सञ्चालनसम्बन्धी कार्य अघि बढेको हो ।



७ करोड ४४ लाखको लागतमा करिब ४ हजार ५०० वर्गमिटर क्षेत्रफलमा बसपार्क निर्माण गरिएको छ । बसपार्कमा साना, ठूलासहित १२० वटा बस अट्न सक्ने क्षमता रहेको नगरपालिकाले जानकारी दिएको छ । बसपार्क सञ्चालनको जिम्मा पाएको कम्पनीले मासिक ३१ लाख १५ हजार रुपैयाँ नगरपालिकालाई तिर्नुपर्ने छ ।

फोटो क्याप्सन ः दुई वर्ष अघि निर्माण सम्पन्न भएको वीरेन्द्रनगर–६ स्थित सिटी बसपार्क ।
तस्बिर ः वसन्त भण्डारी, फरकधार ।



  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार १६:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया