हामी किन बन्न सक्दैनौँ साओ बिन ?

पछिल्लो समय फरकधारले भिडिओमा विचार राख्ने एउटा अभ्यास सुरु गरेको छ– द अपिनियन । द अपिनियनमा प्रत्येक बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य ठाकुर गैरेको विचार आइरहेको छ ।

बीचमा दुई वटा बुधबार गैरेको भिडियो फरकधारमा आएन । यसको कारण हो, उनको पार्टीमा बढिरहेको विवाद । 

तर, यहीबीचमा गैरेसँग मेरा दुई भेट भए । दुवै भेटमा गैरे निकै चिन्तित देखिन्थे । यो दुवै अनौपचारिक भेट थिए । अनौपचारिकता भित्रको औपचारिकता चाहिँ हामीले मेन्टेन गरेका थियौँ । अर्थात्, यो समयमा हामीले कुराकानी गरेका थियौँ, उनको पार्टीबारे ।

पार्टीमा अहिले जे भइरहेको छ, त्यसबाट उनी निकै चिन्तित देखिन्छन् । नेकपामा पछिल्लो समय देखिएको विवादका कारण गैरे जति चिन्तित भएका छन्, त्यो अवस्था अहिले नेकपामा नगर समितिका कार्यकर्ता तथा नेतामा पनि देखिन्छन् । नदेखियोस् पनि किन केही दिनअघि मात्र चितवनमा नगर समितिकै भेलामा नेकपा नेता सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको थियो । 

त्यो दिन पाण्डे चितवनबाट काठमाडौं फर्किँदै थिए । त्यहीबीचमा उनीसँग मेरो फोनमा कुराकानी भएको थियो । सन्दर्भ थियो, उनीमाथि त्यो दिन चितवनमा भएको घटना । 

औपचारिक रुपमा घटनामाथि कुराकानी भइसकेपछि लामो समय पाण्डेसँग फोनमा कुराकानी भयो, अफ द रेकर्डका रुपमा । अफ द रेकर्डमा भएका कुराकानीलाई लेख्न नमिले पनि के चाहिँ भन्न सक्छु भने त्यति बेला पाण्डेसँग पनि नेकपामा पछिल्लो समय देखिएको विवादबारे छलफल भएको थियो । र, त्यसमा पनि पाण्डे निकै चिन्तित देखिएका थिए ।



फेरि फर्किऔँ, फरकधारको द अपिनियनमा । फरकधारको द अपिनियनमा अहिले हामीसँग अर्का नेता प्रदीप पौडेल पनि आफ्ना विचार राखिरहेका छन् । यही सन्दर्भमा बेलाबेलामा भेट हुँदा आफ्नो पार्टी र देशको चिन्ता त एक ठाउँमा छ, पौडेल अहिलेको सत्तारुढ पार्टीबारे पनि चिन्ता व्यक्त गरिरहेका हुन्छन् ।

पौडेलसँग केही दिनअघि एउटा भेटमा छलफल भएको थियो, अहिलेको नेतृत्व सत्तासँग मात्र बफादार भयो, जनतासँग भएन । अन्ततः कुराकानीको सिलसिला टुङ्गिएको थियो, अहिलेको परिस्थितिका लागि नेकपा नेतृत्व निकै जिम्मेवार छ । यो प्रदीप पौडेल, मैले मात्र महसुस गरेको कुरा होइन, हामी सबैले महसुस गरेको विषय हो ।



यहीबीच एउटा पुस्तकबारे छोटो चर्चा गर्नु उपर्युक्त हुन्छ । पुस्तक हो, हा जिनको । चिनियाँ लेखक हाको एउटा लुघउपन्यास छ, इन द पोन्ड । अहिले अमेरिकामा बसोबास गर्ने यी लेखकले उपन्यासमा साओ बिन भन्ने एउटा पात्रलाई प्रोटागोनिस्टका रुपमा उतारेका छन् । र, कथा हो, एउटा कम्युनिस्ट गाउँको ।

कम्युनिस्ट शासन भएको त्यो गाउँमा बिनले आफ्नो परिवारको पेट पाल्नका लागि जुन संघर्ष गरेका छन्, त्यसको वर्णन निकै सुन्दर तरिकामा हा जिनले उपन्यासमा उल्लेख गरेका छन् । तर, उनको त्यो कम्युनिस्ट समाजमा त्यहाँका नेताहरुले गरेको भ्रष्टाचारका कारण उनको प्रगति कहिल्यै हुन सक्दैन । चिनियाँ समाजवादको चर्को विरोध गरिएको यो उपन्यासको कथाजस्तै आज नेपाली समाज आफ्ना सपनाहरु बनाइरहेको छ । तर, ती सपना बनाउन हिजो प्रेरित गर्नेहरुले आज प्रमाणित गरेका छन्, उनीहरुबाट त्यो सपना पूरा हुन सक्दैन ।

यसको ठ्याक्कै उदाहरण हो, अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद । नेकपामा अहिले जुन विवाद देखिएको छ र नेकपाका दुई अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप गरेर जुन प्रतिवेदन उनीहरुको सचिवालयमा प्रस्तुत गरेका छन्, त्यसबाट प्रष्ट हुन्छ, न यी दुई अध्यक्षले नेपाली समाजबारे सोचेका छन्, न उनीहरुलाई देश प्रगतिको विषयमा सोच्ने कुनै फुर्सद नै छ ।

१९ र ३८ पृष्ठ लामो आआफ्ना प्रतिवेदनमा क्रमशः नेकपा अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले समाज हितको विषयमा कुनै पनि बुँदालाई प्राथमिकतामा राखेका छैनन् । न त देशको विषयमा नै उनीहरु चिन्तित भएका छन् । संसदमा दुईतिहाइ सदस्य भएको नेकपा अहिले जुन विवादमा अल्झिएको छ, त्यसले देशलाई नराम्रोसँग पछाडि धकेलेको छ । कोरोनाभाइरस महामारीबीच सरकारको नेतृत्व गरिरहेका नेताहरुको प्राथमिकता जेमा देखिएको छ, त्यसले देशलाई पछाडि धकेल्न थप सहयोग गरिरहेको छ ।

अब सरकार भ्रष्टाचारमा लिप्त छ भन्ने कुराको प्रमाण ट्रान्सपरेन्सी इन्टरनेसनलका रिपोर्ट होइनन्, सरकारकै नेतृत्व गरिरहेका पार्टीका अध्यक्षको प्रतिवेदनमा आइसकेको छ । देशका महत्वपूर्ण पदहरुमा भएका नियुक्तिमा दुई नेता वा ती खेमाको प्रभाव मात्र रहेको सरकारको नेतृत्व गरिरहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिवेदनमा आइसकेको छ ।

एकले अर्कोलाई सरकारको नेतृत्व गरिरहेको दलका नेताले आरोप लगाइरहेका छन् । उनीहरुले स्वयंले आफूलाई असक्षम प्रमाणित गरिरहेका छन् । र, नेकपामा अहिले देखिएको यही विवादबीच देशभर पूर्वराजाको पक्षमा दैनिक जुलुस भइरहेका छन् । यसले प्रष्ट पार्छ, अहिलेको नेतृत्वले देशलाई सही दिशामा लगिरहेको छैन । 

यही कारण हुनुपर्छ, सत्तारुढ दलका ठाकुर गैरे, सुरेन्द्र पाण्डे, प्रतिपक्षी दलका प्रदीप पौडेलहरुको चिन्ता बढिरहेको छ ।

तर, के अब हामीले हा जिनको त्यो उपन्यासमा भएको साओ बिनको जस्तै विद्रोह गर्ने समय आएन ?

आउनुहोस्, एकैछिन चर्चा गरौँ, हा जिनको उपन्यासमा साओ बिनले के गर्छ भन्नेबारे ।

साओ बिनले त्यही गर्छ जुन अहिले हामीले गरिरहेका छौँ । अर्थात् परिवार पाल्नका लागि हामीले अहिले जसरी दुःख गरिरहेका छौँ, उसले पनि आफ्नो परिवार पाल्न दुःख गरिरहेको हुन्छ । त्यही दुःखबीच उसले देख्छ, उसको समाजमा उसलाई बोल्न प्रतिबन्ध लगाइएको छ तर उसलाई जसले आदर्शका कुरा गरेका छन्, सपनाका कुरा गरेका छन्, उनीहरु मोजमस्तीमा जीवन बिताइरहेका छन् ।

आफूलाई नेतृत्व गर्ने र सपना देखाउने त्यो समूहलाई इन्जोय गराइरहेको छ, बीचमा एउटा समूहले । अर्थात् बिचौलियाले । बिचौलियाको पूर्ण समर्थनमा रहेर साओलाई त्यहाँ नेतृत्व गरिरहेका छन् केही नेताहरु । अर्थात् अहिलेको सरकार र नेतृत्वलाई यस्तै अवस्थामा राखेका छन्, नेपालका बिचौलियाहरुले । अझ प्रष्टसँग बुझौँ, ओम्नी समूह, यति समूहजस्ता बिचौलियाहरु आफ्नो राज गर्न नेतृत्वलाई प्रफुल्लित बनाइरहेका छन् । र, उनीहरुको औंलामा नाचिरहेको छ, अहिलेको नेतृत्व । चाहे त्यो सरकारी नेतृत्व होस् या प्रतिपक्ष नै किन नहोस् ।

फेरि हा जिनकै त्यही उपन्यासमा जाऔँ ।

साओले त्यसपछि आफ्नो समुदायमा विद्रोह गर्ने निर्णय गर्छ । तर, उसले यो विद्रोहका चरणमा बुझ्दै जान्छ, बिचौलियासँग मिलेमतोमा छन्, उसले आदर्श मानेका नेताहरु र ती नेताहरुलाई बाहिर असमर्थ गरिरहेका प्रतिपक्षहरु । र, उनीहरुलाई ह्यान्डल गरेका छन्, बिचौलियाहरुले जो केही उनकै साथीहरु पनि हुन् ।

विद्रोहको त्यो चरण साओको मनबाट सुरु भएको थियो, समुन्नत भविष्यका लागि, आफ्नो, आफ्नो परिवार र आफ्नो समाजका लागि । 

उसले सुरुवात गरेको थियो र बीचमा थाहा पाएको थियो, आफ्नो नेतृत्व कसरी भ्रष्ट भइरहेको छ । 

हामीले त अहिले थाहा पाइसकेका छौँ, हाम्रो नेतृत्व निकै भ्रष्ट भइसकेको छ । यसले हाम्रो समुन्नत समाज चाहँदैन, यसले हाम्रो उज्ज्वल भविष्य चाहँदैन । के हामीले अब पनि साओको जस्तै विद्रोह नगर्ने ?

के हामी बन्न सक्दैनौँ साओ बिन ?

  • प्रकाशित मिति : मंसिर १४, २०७७ आइतबार २२:६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया