बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न मुख्यमन्त्रीको  निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् । 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले प्रस्तुत गरेको खर्च र आम्दानीको प्रतिवेदन माथि छलफल भएको थियो । 

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । यस्तै राजस्व संकलन तर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ । 

यस्तै विषयगत मन्त्रालयका सचिवहरुले पनि आ–आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गरेका थिए । सबै मन्त्रालयको कार्यप्रगति हेरिसकेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न विषयगत मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन् । 

कार्यक्रममा पहिलो चौमासिकमा सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सबैभन्दा बढी खर्च गरेको र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम खर्च गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । 



जस अनुसार प्रदेश सभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शुन्य दशमलव ८१ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ०८ र वित्तीय हस्तान्तरण स्थानीय तहले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १४:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया