गरिबीका कारण उपचारको आसमा १२ वर्षसम्म घरमै थलिन बाध्य, उपचारकाे ऋण तिर्न नसक्दा साहुको हातमा लालपुर्जा
फोटो क्याप्सनः १२ वर्षअघि रुखबाट खसेर घाइते भएका कर्ण नेपाली । तस्बिरः फरकधार डटकम ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का कर्णबहादुर नेपाली १२ वर्षसम्म उपचारको आसमा घरमै थलिन बाध्य छन् । ०६५ सालमा वडा नम्बर १० अलायचौरमा रहेका एक विद्यालयमा रुखको हाँगा काट्न जाँदा करेन्ट लागेर रुखबाट खसेका कर्णको मेरुदण्ड र दुईवटा खुट्टा भाँचिएका छन् । ५२ वर्षीया कर्णले लामो समयसम्म उचित उपचार नपाएपछि स्वास्थ्य अवस्था दिन दिनै बिग्रिँदै गएको छ । 

‘१२ वर्ष भयो, उहाँको राम्रो उपचार गर्न सकेका छैनौँ,’ कर्णकी श्रीमती मीना नेपालीले भनिन्, ‘परिवारले जुटाएको पैसा सामान्य उपचार मै सकियो । थप उपचारका लागि पैसा नहुँदा उहाँको उपचार हुन सकेको छैन ।’ यसरी राम्रो उपचार नपाएका कर्ण चार वर्षअघि पुनः ह्विल चियरबाट लडेका थिए । 

कर्णको उपचार गर्दा लिएका ऋण तिर्न नसक्दा आफूहरु बस्दै आएको लालपुर्जासमेत साहुको हातमा रहेको श्रीमती मीनाले बताइन् । पहिले लिएको धेरै वर्ष भएकाले आफूहरुले त्यसको ब्याजसमेत तिर्न नसक्ने उनको भनाइ  छ । हाल पुनः कर्णको अवस्था गम्भीर भएको भन्दै मीनाले उपचारमा सहयोग गरिदिनका लागि आग्रह गरेकी छन् । 

कर्णका श्रीमती मीना नेपाली, दुई छोरी र तीन छोरा रहेका छन् । तीमध्ये श्रीमती मीनाको दुई वर्षदेखि फोक्सोमा इन्फेक्सनको समस्याबाट पीडित छन् भने भने १२ वर्षीया एक छोरी मानसिक रुपमा अशक्त छिन् । श्रीमान् घाइते भएसँगै आफूले वनको दाउरा, रातो माटो, घाँस बेचेर जसोतसो बच्चा हुर्काइरहेको मीनाले दुखेसो पोखिन् । उपचारमा सहयोगका लागि आफूले विभिन्न क्षेत्रमा धाए पनि कुनै क्षेत्रबाट सहयोग नभएको उनको भनाइ छ । 

कर्ण परिवारलाई सहयोग गर्न चाहनेले श्रीमती मीना नेपालीको नाममा रहेको नेपाल एसबिआई बैंक लिमिटेड सुर्खेतमा रहेको २०८१५२४३४०१०४२ खाता नम्बरमा सहयोग गर्न सकिने र उनको मोबाइल नम्बर ९८२२४४४१५४ रहेको परिवारजनले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १६:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया