बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका उनका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छन् ।
श्रीमान्ले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत् न्यायको अपिल गरेकी शर्माले मंगलबार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुईवटा कसुरमा जाहेरी दिएकी हुन् ।
मङ्सिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध उनकी पत्नीले बहुविवाह र भ्रूण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका धनबहादुर थापाले जानकारी दिए ।
मुद्दा दर्ता भएसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढेको जिप्रकाले जनाएको छ। फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानुनी प्रावधान रहेको छ। चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो ।
श्रीमान्ले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।